+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares
अशोक राईसँग अन्तर्वार्ता :

‘राजेन्द्रजीले पहिला नै सेटिङ गर्नुभएको रहेछ’

‘हाम्रो पुस्ता अभिभावकीय भूमिकामा बस्नुपर्छ ।चुनाव गराउँछु मात्र भनेर हुँदैन । दुनियाँले हेर्दा पनि मतदाताले आफ्नो अभिमत दबाबरहित ढंगले व्यक्त गर्न पाएका छन् भन्ने प्रत्याभूति हुनुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते २०:३५

पहिचानलाई प्रमुख आधार बनाएर राज्य पुनर्संरचना गर्नुपर्ने विषयमा पार्टीमा कुरा नमिलेको भन्दै तत्कालीन उपाध्यक्ष अशोककुमार राईले एमाले छाडेको १३ वर्ष भयो । त्यतिबेला उनीसँगै बाहिरिएका आधा दर्जन केन्द्रीय नेताहरूमध्ये राजेन्द्र श्रेष्ठ मात्रै उनीसँग थिए । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष श्रेष्ठले पनि ६ केन्द्रीय नेतासहित नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण गर्न भन्दै पार्टी छाडेका छन् ।

जसपाका केन्द्रीय अध्यक्ष अशोककुमार राई भने वार्ता गर्न खटिएका श्रेष्ठले नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालसँग सेटिङ गरेको निष्कर्षमा पुगेका छन् । जसरी पनि सांसद बन्ने आकांक्षाले आफ्नो पार्टीका नेताहरूले पार्टी छोडेको उनको भनाइ छ । जसपा अध्यक्ष राईसँग पार्टी विभाजन लगायतका विषयमा अनलाइनखबरका सन्त गाहा मगरले गरेको संवाद :

४० वर्षदेखिका सहयात्री राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूले अर्को पार्टीमा जान यहाँको साथ छाडे, पार्टीमा खास के भएको हो ?

हिजो मात्रै राजेन्द्रजी सहित तीन जना पदाधिकारी र तीन जना केन्द्रीय निकायका साथीहरूले नेपाली कम्युनिस्ट पार्टीमा जाँदैछौं भनेर जानकारी पत्र दर्ता गराउनु भएको रहेछ ।

राजेन्द्रजीसँगको मेरो सहयात्रा लामै हो । पहिचानका मुद्दामा अडान लिएर एमालेबाट बाहिरिँदा पनि हामी साथमै थियौं । जुन उद्देश्यका निम्ति एमाले परित्याग गरेका थियौं, पहिल्लो १३ वर्षमा त्यसले व्यापकता पाएको छ र अझै गहिराइमा पुगेको छ । यद्यपि, पहिचानका मुद्दा बोकेको सशक्त पार्टीको उदय हुन सकेको छैन । हामीले पनि त्यो शक्ति आर्जन गर्न सकेका छैनौं । तथापि, धैर्य राखेर मिहिनेत गरौं भन्ने मेरो आग्रह थियो । तर उहाँहरूले पार्टी बन्दैन, बन्ने देखिएन त्यसकारण बिदा पाउँ, कसैप्रति गुनासो, आरोप वा असन्तुष्टि छैन भन्ने कुरा बैठकमा राख्नुभयो ।

तपाईंले रोक्ने प्रयास गर्नु भएन ?

मैले पार्टी एकीकरण सम्भव छैन, फुटाएर जाँदा उद्देश्य प्राप्त हुँदैन । त्यसैले चुनावी मोर्चा वा समाजवादी मोर्चा बनाऊँ भनेको थिएँ । मेरो यो कुरा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पटकपटक स्वीकार गर्नुभएको थियो ।

हाम्रो वार्ता कमिटीका संयोजक राजेन्द्रजीले नै मोर्चाको लागि हो भने त म वार्ता गर्दिनँ, मोर्चा बनाएर लाभ छैन, मोर्चा बनाउँदा २०७४ र २०७९ मा मैले धोका पाइसकेको छु भन्नु भएपछि संकट पैदा भयो । त्यस्तो स्थितिमा केही उपाय खोज्न सकिन्छ कि भनेर मैले ‘आजै बिदा मागेर जाने’ कुरा नगरौं, त्यसो गर्दा नेतालाई शोभा पनि दिँदैन र जुन ठाउँमा जाने भन्दै हुनुहुन्छ त्यहाँ पनि ठोस शक्ति आर्जन गर्ने अवस्था बन्दैन भनेको थिएँ ।

त्यही बीचमा दुई–चार दिन समय निकाल्ने कोसिस भयो । त्यसपछिको वार्तामा त नेकपा संयोजक प्रचण्डजी र सहसंयोजक माधवजीले मोर्चाले हुँदैन, एकतै गर्नुपर्छ भन्नु भएछ । किनारामा पुग्नु भएको देखिसकेपछि राजेन्द्रजीसँग उहाँहरूको ‘सेटिङ’ भएछ ।

एकताको पक्षमा हाम्रो पार्टीका सबै नेताहरू नहुने स्थिति बन्यो । सैद्धान्तिक कुराहरू पनि बहस गरेर महाधिवेशनमा टुङ्ग्याउने भनिएको छ । जुन विषयवस्तुका लागि एमाले छोडेर आएका थियौं, त्यही कुरामा बहस गर्नुपर्ने देखियो । मोर्चा पनि नबन्ने भयो । त्यसपछि जति साथीहरू छुटेर जानुहुन्छ, जान दिनुपर्छ भन्ने निष्कर्षमा पुग्यौं । रोक्न सकिएन । राजेन्द्रजीले आत्मनिर्णयको अधिकार प्रयोग गर्नुभएको छ ।

केन्द्रीय कमिटीले एकतालाई पनि खुला राख्नुपर्छ भन्यो । सिद्धान्त, विचार र मुद्दा मिल्नेहरूसँग एकता गर्नुपर्छ भनेर पार्टी स्थापनादेखि नै निरन्तर वार्ता कमिटी बनाएर काम गर्दै आएका थियौं । तर अहिलेको एकता ‘हतारको विवाह कनपट्टिमा सिन्दुर’ जस्तो हुन्छ । एकता भनिसकेपछि पार्टीको सिद्धान्त, नीति, विचार, नाम, चुनाव चिह्न, झण्डा, नेताहरू अट्ने वा नअट्ने जस्ता कुरा आउँछन् ।

चुनाव कसरी जित्ने, संसद्‌मा कसरी पुग्ने, समानुपातिकबाटै हुन्छ कि भन्ने जस्ता कुरालाई उहाँले बढी ध्यान दिनुभएको प्रष्टै छ ।

नेकपामा १२–१३ वटा समूह मिलेर बनेको केन्द्रीय कमिटी छ । चुनावको पनि दबाबमा छौं, त्यही भएर यतिबेला चुनावी मोर्चा बनाएर जानु बुद्धिमानी हुन्छ भनेको थिएँ । यद्यपि, उहाँहरू जसरी जानुभएको छ त्यसलाई म सुसंस्कृत तरिका नै भन्छु ।

यहाँले ‘हतारको विवाह कनपट्टिमा सिन्दुर’ भन्नुभयो । राजेन्द्र श्रेष्ठले ‘भोज सकिएपछिको जन्ती जानुको के अर्थ’ भन्नुभएको छ नि ?

उहाँमा विगतमा दुई पटक हारेको पीडा थियो । मोर्चाबन्दी गर्दा चुनाव जितिँदैन भन्ने उहाँको निष्कर्ष हो । चुनाव कसरी जित्ने, संसद्मा कसरी पुग्ने, समानुपातिकबाटै हुन्छ कि भन्ने जस्ता कुरालाई उहाँले बढी ध्यान दिनुभएको प्रष्टै छ ।

उहाँले नेकपाका नेतासँग पहिला नै सेटिङ गर्नुभएको रहेछ । वार्ताको नाटक त बेकार रहेछ । उहाँले क–कसको लागि के गर्नुभएको छ त्यो पछि खुल्दै जान्छ । मैले अहिले धेरै बोल्नु राम्रो हुँदैन । पहिचानको कुरामा संघर्ष गर्छौं भन्नुभएको छ । उहाँहरूको प्रवेश कार्यक्रमलाई शुभकामना छ ।

प्रवेश कि पार्टी एकता ?

डल्लै पार्टी जाँदा पनि एकता हुँदैनथ्यो । विलय मात्रै हुन्थ्यो । नाम नेपाली कम्युनिस्ट पार्टी, हँसिया, हथौडा र तारा चुनाव चिह्न स्वीकार्नु पर्ने र मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, नेतृत्वको हिसाबले त प्रचण्डजी र माधवजी भइहाल्नु भयो । त्यसकारण वस्तुत: त्यो एकता होइन विलय नै हुन्थ्यो । उहाँहरू अहिले जानु भनेको व्यक्तिहरूको समूहको पार्टी प्रवेश हो ।

यहाँले संयोजक वा सहसंयोजक पाएको भए एकीकरण सम्भव थियो ?

पदको बार्गेनिङ गर्दै गरेनौं । उहाँहरूले दुई जना हेडक्वार्टरमा राख्छौं भन्नुभएको थियो । बाँकीलाई सचिवालय, केन्द्रीय सचिवालय र केन्द्रीय समितिमा राख्छौं भन्नुभएको थियो । प्रचण्डजी र माधवजीलाई थाहा नै होला, हाम्रो पार्टीको जिल्ला र प्रदेश तहका साथीहरू केन्द्रीय सदस्य बनेर गइसक्नु भएको छ । त्यसो हुँदा त केन्द्रीय कमिटी एक हजार माथि जान सक्ने भयो । भलै विधानले ६०१ हुने भनिएको छ ।

यहाँले अघि दुई–दुई वटा चुनाव हारेको प्रसंग ल्याउनु भएको थियो । चुनावै जित्न त १३ वर्षअघि छोडेको एमालेबाटै सजिलो थियो नि भन्ने कुराले जसपा छाड्नेहरू बढेका हुन् कि ?

यो विषयमा त उहाँहरूलाई नै सोध्नु राम्रो होला ।

यहाँलाई, बरु एमालेमै बसेको भए संघर्ष गर्न सजिलो हुने रहेछ भन्ने लाग्दै गएको हो ?

बिल्कुल होइन । यद्यपि, त्यतिबेला एमालेको केन्द्रीय कमिटीबाट निस्किएकामध्ये म मात्रै यो पार्टी निर्माण गरेर अगाडि बढ्ने अवस्थामा छु । जतिसुकै कष्ट भए पनि यो पार्टीमै रहेर तपस्या गर्ने अठोट लिएको छु ।

एमाले छाडेकोमा कुनै पश्चाताप छैन । जे गरियो असाध्यै राम्रो गरियो । सही समयमा सही निर्णय गरियो भनेर सन्तुष्ट छु । किनभने, मैले एमाले छोड्ने बेलामा पहिचानको मुद्दालाई जातिवादसँग जोड्ने, तिरस्कार, बहिस्कार, अपमान गर्ने मात्र होइन दमन गर्ने स्थिति थियो । आज पहिचानको व्याख्या सुन्न सबै उत्सुक छन्, सुन्ने धैर्य राख्छन् । त्यति बेला मलाई जातिवादी भन्ने साथीहरू म भन्दा सशक्त भएर पहिचानको व्याख्या गरिरहेको देख्छु । पहिचान भनेको जातिवादी होइन राष्ट्रिय एजेन्डा रहेछ,  राष्ट्रिय एकता मजबुत गर्ने, सबैलाई सम्मान र पहिचान दिने कुरा रहेछ भन्ने सनैसनै बुझ्दै गएका छन् । मैले जुन उद्देश्यका लागि एमाले छोडेको थिएँ त्यो विषय विस्तारित हुँदैछ, बौद्धिक क्षेत्र र जनतासम्म पुगेको छ ।

पहिचानको मुद्दा जनताले मन पराएको भए त यहाँहरूले चुनाव जित्नुपर्ने होइन र ? २०७९ मा यहाँले सुनसरीबाट चुनाव त जित्नु भयो, तर एमालेको समर्थनमा । मुद्दा लोकप्रिय भएको भए जसपाले मत किन पाएन ?

नेपालमा मुद्दागत आधारमा मत दिनसक्ने अवस्था बनिसकेको छैन । हाम्रो चुनाव प्रणाली नै मुद्दा होइन तामझाम, प्रशासनको दुरुपयोग, पैसा–पाखुराबाट प्रभावित हुने खालको छ । यो चुनाव प्रणालीले मुद्दाको औचित्य मापन गर्दैन । यस्तो निर्वाचन प्रणालीमा नतिजा संगठनको व्यापकता र उम्मेदवारमा निर्भर गर्छ ।

तपाईंलाई एउटा उदाहरण दिन चाहन्छु । महाकालीको मुहान र बाँधमा जम्मा हुने पानी बाँडफाँटको सिद्धान्त तय गरेर मात्र सन्धि गर्नुपर्छ भनेका थियौं । कसैले महाकाली सन्धिपछि ‘पश्चिमबाट सूर्य उदाउँछ’ भने, कसैले ‘वार्षिक दुई खर्ब रुपैयाँ राजस्व उठ्छ’ भने । त्यही मुद्दालाई लिएर एमाले विभाजित भएर माले बन्यो । त्यस्तो राष्ट्रियताको मुद्दा लिएर जाँदा मालेले एक सिट पनि जितेन ।

राजेन्द्रजीले नेकपाका नेतासँग पहिला नै सेटिङ गर्नुभएको रहेछ । वार्ताको नाटक त बेकार रहेछ । उहाँले क–कसको लागि के गर्नुभएको छ त्यो पछि खुल्दै जान्छ ।

यति संवेदनशील राष्ट्रिय मुद्दा नबोकेको मतदाताले अहिले नै पहिचानको मुद्दा बोक्ने प्रश्नै आउँदैन । किनकि, पहिचानको मुद्दा त अलि कठिन, जटिल वा बुझाउनै पर्ने किसिमको छ । यसमा तुरुन्तै प्रतिफल खोज्यौं भने जति साथीहरूले मलाई छोडेर जानुभयो त्यस्तै अवस्थामा पुगिन्छ ।

मुद्दा मिल्ने भनिएका डा. बाबुराम भट्टराई, उपेन्द्र यादवहरूसँगको सहकार्य पनि लामो गएन । एमालेबाट बाहिरिएका केन्द्रीय तहका नेताहरूलाई पनि यहाँ रोक्न सक्नु भएन नि ?

आदर्शका कुरा र व्यावहारिक यथार्थ फरक हुँदो रहेछ । सिद्धान्त, दर्शन, विचार वा मुद्दा मिलेपछि जेसुकै खपेर बस्नुपर्छ भन्ने हुन्छ । तर व्यावहारिक यथार्थ नेतृत्वको कार्यशैली (पद्धतिमा चल्छ कि चल्दैन, वा स्वेच्छाचारी छ कि छैन)ले गर्दा पनि सँगै बस्ने कि छुट्टिने भन्ने निर्धारण गर्दो रहेछ ।

उपेन्द्र यादवजीबाट बाबुरामजी, महन्थ ठाकुरजी र पछि म छुट्टियौं । यो सैद्धान्तिक विमति भएर होइन, विल्कुल कार्यशैलीले गर्दा हो । एमालेबाट नेकपा (एकीकृत समाजवादी) बनेको पनि कार्यशैलीकै कारण हो ।

त्यतिबेला मैले बाबुरामजीलाई अहिले नै ननिस्कनु ठिक हुन्छ, उपेन्द्रजीका कमी–कमजोरीलाई सच्याउने, सुधार्ने प्रयत्न गरौं भनेको थिएँ । बाबुरामजीले म अन्तिम निष्कर्षमा पुगिसकेँ भन्नुभयो । म पनि त्यसरी नै निस्किएँ ।

यहाँले एमालेबाट बाहिरिने बेलामा ‘फोडेको होइन, छोडेको’ भन्नुभएको थियो । राजेन्द्र श्रेष्ठहरूले पनि जसपा छोडेको जानकारी गराएका छन् । सैद्धान्तिक मतभेद होइन भनिसकेपछि अध्यक्षकै कार्यशैली मन नपरेको छोडेको देखियो होइन ?

हुनसक्छ । तर मेरो कार्यशैलीमा भन्दा पनि उहाँहरूले लिखित रूपमै पार्टी नबन्ने भयो, बन्ने छाँटकाँट छैन भन्नेमा जोड दिनुभएको छ । बालुवाबाट तेल निकाल्ने भने जस्तै हो भन्नुभएको छ ।

चीनले मरुभूमिलाई हरियाली बनाएको भिडिओ हेरेको थिएँ । बालुवामा पनि हरियाली हुनसक्छ बरु प्रविधिमा पो समस्या छ कि ? उहाँहरूको गुनासोभन्दा पनि यहाँले प्रश्न गरेजस्तोे मेरै कार्यशैलीमा सुधार गर्नुपर्ने पो छ कि ? यो मुद्दा बोक्न नेतृत्वमा जेनजी पुस्ता पो आउनुपर्ने हो कि ? मुद्दा वैज्ञानिक छ भने स्थापित गर्ने कार्यशैली वा नेतृत्व फेर्नुपर्ने हो कि ?

नेतृत्व छाड्न तयार हुनुहुन्छ ?

विल्कुल छु । लोकतान्त्रिक प्रगतिशील पार्टी र नागरिक उन्मुक्ति पार्टीले जेनजी पुस्ताको नेतृत्व छानिसक्यो ।

जसपाले कहिले छान्छ त ?

हामी सल्लाह गर्छौं । हतार गर्नु हुँदैन । यान्त्रिक र नाटकीय पनि हुनु भएन । सक्षम व्यक्तिलाई जिम्मेवारी सुम्पनु पर्छ । हाम्रो पुस्ता अभिभावकीय भूमिकामा बस्नुपर्छ ।

साँच्चै अभिभावकीय भूमिका बस्ने निष्कर्षमा पुग्नु भएको हो ?

अहिले होइन, उपेन्द्र यादवजीबाट अलग्गिने बित्तिकै मैले प्रस्ताव गरेको हुँ । साथीहरूले पार्टीस्थिर भएपछि अरू नेतृत्व ल्याउने बारेमा सोचौंला भनेपछि मात्रै जिम्मेवारी लिएको हुँ । म बिना यो पार्टी चल्दैन भन्ने मेरो मान्यता छैन । कुनै व्यक्ति नभएर पार्टी वा देश नचल्ने भन्ने हुँदैन । हाम्रो पुर्खाले भनिसकेकै छ त– राजा मरेर राज, काजी मरेर काज खाली हुँदैन ।

एकीकरण वा मोर्चाबन्दी भन्ने कुराले जसपा विभाजित भयो । राजेन्द्र श्रेष्ठहरूको बहिर्गमनपछि जसपा एक ढिक्का छ ?

दुई खालको विचार छलफलमा आएको सही नै हो, एउटा मोर्चाबन्दी गरेर जाने र अर्को एकीकरण गरेर जाने । पार्टी विभाजन गरेर एकीकरणमा जाने पक्षमा म थिइनँ । एकीकरण गर्ने साथीहरू बाहिरिनु भयो । जसपा अहिले एक ढिक्का छ ।

जसपाले राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एकल चिह्नबाट चुनाव लड्ने निर्णय गरेको छ । जसपालाई आफ्नो चुनाव चिह्नमा विश्वास नभएर उन्मुक्ति पार्टीको लिएको हो ?

सम्पूर्ण मतदाता साक्षर भएको भए पार्टी वा उम्मेदवारकै नाममा भोट गर्न सकिन्थ्यो होला । निरक्षर मतदातालाई पनि सजिलो होस् भन्ने हिसाबले चुनाव चिह्न लिनु परेको हो । यसमा विश्वास र अविश्वासको प्रश्नै आउँदैन । हामीले तीन वटा पार्टी मिलेर मुलुक बेथिति, भ्रष्टाचार, अनियमिततालाई पिसेर धुलोपिठो बनाउनु पर्छ भन्ने उद्देश्यका साथ जाँतो (चकिया) रोजेका हौं ।

आगामी फागुनमा निर्वाचन होला ?

त्यतिबेला एमालेको केन्द्रीय कमिटीबाट निस्किएकामध्ये म मात्रै यो पार्टी निर्माण गरेर अगाडि बढ्ने अवस्थामा छु । जतिसुकै कष्ट भए पनि यो पार्टीमै रहेर तपस्या गर्ने अठोट लिएको छु । एमाले छाडेकोमा कुनै पश्चाताप छैन ।

फागुनमा चुनाव हुन्छ कि हुँदैन भन्ने आधिकारिक मान्छे म होइन । यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ । उहाँले हुन्छ कि हुन्छ भनिरहनु भएको छ । राष्ट्रपतिज्यूले यही जिम्मेवारीका लागि प्रधानमन्त्री बनाउनु भएको हो । स्वच्छ, निष्पक्ष र भयरहित चुनाव हुने वातावरण बन्नुपर्छ ।

त्यस्तो चुनावका लागि सरकारले काम गरेको छ त ?

सर्वदलीय बैठक बोलाएर गरेका छौं भनिरहनु भएको छ । कामको विवरण पनि दिनु भएको छ । तर स्थिति के छ भने जेलबाट भागेका पाँच हजार जति अपराधीहरू बाहिरै छन् । लुटिएको हतियार फिर्ता भएको छैन । अराजकता छँदैछ । शान्ति सुव्यवस्थालाई चुनौती दिने व्यक्ति–शक्ति देखापरेकै छन् ।

त्यो भनेको यहाँको पूर्वपार्टी एमाले र जेनजी हो ?

यहाँले नाम लिनुभएको भन्दा बाहेकबाट पनि शान्ति सुव्यवस्थामा खलल पुग्ने चेतावनी आइरहेकै छ नि । जस्तो दुर्गा प्रसाईं प्रक्राउ परे । मान्छेले निर्वाध हिँड्डुल गर्न र आफ्नो मौलिक हक उपभोग गर्न पाएका छैनन् । विभिन्न घटना घटिरहेका छन् । यसतर्फ सरकारको ध्यान जानुपर्छ, चुनाव गराउँछु मात्र भनेर हुँदैन । दुनियाँले हेर्दा पनि मतदाताले आफ्नो अभिमत दबाबरहित ढंगले व्यक्त गर्न पाएका छन् भन्ने प्रत्याभूति हुनुपर्छ । अन्य काम छोडेर भए पनि ध्यान चुनावमा केन्द्रित गर्नुपर्छ । अहिलेसम्म सरकारले काम त गरिरहेको छ तर पर्याप्त छैन । ढुक्क हुने परिणाम आएको छैन ।

एमाले संसद् पुनर्स्थापनाको पक्षमा छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । पुनर्स्थापना पनि विकल्प हो ?

सर्वोच्च अदालतको फैसला सर्वमान्य हुन्छ । सर्वोच्चले विभिन्न प्रावधान हेरेर फैसला देला । तर फैसला आजै चाहियो त भन्न सकिँदैन । राष्ट्रपतिज्यूले दलहरूको समेत सहमतिमा २१ फागुनमा चुनाव गराउने गरी सरकार बनाउनु भएको हो । सबै चुनावतिरै केन्द्रित हुँदै गएको अवस्था पनि हो । हाम्रो पार्टी चुनावको तयारीमा छ । सर्वोच्चमा विचाराधीन प्रश्नमा त केही बोल्न कुरा आएन । संसद् पुनर्स्थापनाको माग राखेर सडकमा जाने हाम्रो नीति छैन ।

पुनर्स्थापना पनि भएन र फागुन २१ मा चुनाव पनि भएन भने आगामी राजनीति कसरी जाला ?

यस्तो अमुक कुरामा अनुमान गर्नु मलाई नकारात्मक लाग्छ । म सकारात्मक सोच्ने मान्छे भएको हुनाले चुनाव हुन्छ भन्नेमै छु ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?