३० कात्तिक, काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जसपाबीच पार्टी एकताबारे छलफल भएको छ । छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।
शनिबार पेरिसडाँडामा भएको वार्तामा सहभागी नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले जसपाको वार्ता टोलीसँगको छलफल सकारात्मक भएको बताए । ‘वैचारिक, सैद्धान्तिक कुरामा हिजो छलफल भयो, छलफल सकारात्मक छ,’ नेता हमालले भने । छलफललाई जारी राख्ने सहमति भएको उनले बताए ।
छलफलमा जसपाको वार्ता टोली संयोजक राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट हमालसहित देव गुरुङ र वर्षमान पुन सहभागी थिए ।
नेपाली कम्युनिस्ट पार्टीसँगको छलफलपछि जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाका अध्यक्ष अशोक राईले मंसिर १ गते कार्यकारिणी समितिको बैठक बोलाइएको जानकारी दिए ।
उनका अनुसार सो बैठकमा चुनावमा कसरी जाने भन्ने विषयमा छलफल हुने छ । ‘विभिन्न पार्टीहरुसँग छलफलमा छौं । आगामी चुनावमा एकता गरेर जाने कि मोर्चा बनाएर जाने कि भन्ने विषयमा छलफल गरेर निर्णय गर्छौं,’ अध्यक्ष राईले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4