Comments Add Comment

अदालतबाट ‘क्लिन चिट’ पाएपछि गोविन्दले भने–‘अब विश्वास कसैको गर्दिनँ’

निर्माता तथा वितरक गोविन्द शाहीलाई जिल्ला अदालत काठमाडौंले मंगलबार क्लिन चिट दियो । चलचित्र ‘लिलिबिली’को ८७ लाख भन्दा बढी शेयर रकम नदिएको भन्दै यसका निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्काले प्रहरीमा उजुरी दिएपछि गोविन्द हिरासतमा समेत पुगेका थिए । प्रहरीले उनलाई २ साता हिरासतमा पनि राख्यो ।

वि.सं २०७६ साल कात्तिक महिनामा चाम्स र खड्काले उजुरी दिएपछि शाहीले ठगीको मुद्दा खेप्दै आएका थिए । उनै, शाहीले अदालतबाट क्लिन चिट पाएपछि अनलाइनखबरसँग भने–‘संसारमा कोही आफ्नो नभएपनि भगवान् सधै साथमा हुनुहुन्छ भन्ने लागेको छ ।’

शाहीले यो ३ बर्षको अवधीमा आफूले मात्र नभएर आफ्नो परिवारले पनि मानसिक तनाव भोगेको बताए । उनले भने–‘चलचित्रको बिषयमा केही पनि थाहा नभएकी मेरी श्रीमतीलाई समेत यो मुद्दामा तान्ने काम भयो । चलचित्रको वितरणदेखि निर्माणको काममा समेत मलाई असर पर्यो । मेरो छवि नै विग्रियो ।’

आफूलाई चिन्ने मानिसहरुले यो बिषयमा सबै कुरा वुझेपनि नवुझेका मानिसहरुले ‘ठग’ भनेर सोच्दा दुःख लागेको शाही बताउँछन् । उनले भने–‘यो दुनियाँमा कसैको पनि विश्वास गर्नु हुँदैन भन्ने पाठ सिकेको छु । चलचित्र क्षेत्रमा धेरैलाई साथी संझिएर मौखिक रुपमा नै काम गरिएको छ । तर, अबदेखि लिखित संझौता राम्रोसँग वुझेर मात्र काम गर्छु ।’

सुदिप र मिलनले आफूमाथि किन यस्तो घात गरे भन्ने शाहीलाई थाहा छैन । तर, उनी भन्छन्–‘खै उहाँहरुले मलाई दुःख दिएर मेरो बदनाम गराउन मात्र यस्तो गर्नुभएको हो जस्तो लाग्छ । तर, सम्मानित अदालतले मलाई सफाई दिएको छ । संसारमा भगवान त छ भन्ने भरोसा भएको छ ।’

मिलन र सुदिपले आफूले ८७ लाख ठगेको भन्दै उजुरी दिएर आफूलाई दुःख दिएपनि आफ्नै २१ लख भन्दा बढी रकम लिनु रहेको गोविन्दले बताए । उनले पावर र पैसाको आधारमा दुःख दिने काम भएको भन्दै गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment