Comments Add Comment
फोटो फिचर :

नाकामा बिहेको गाडीका लस्कर, साँगाबाट मात्रै ८० वटा बाहिरिए

उपत्यका प्रवेशमा कडाइ

१७ वैशाख, साँगा (काभ्रे) । काभ्रेपलाञ्चोकको साँगामा शुक्रबार दिउँसो २ बजे पुग्दा लस्करै जन्तीबसहरु देखिए । चेकजाँचका लागि खटिएका प्रहरी अधिकृतहरु सामान्य सोधपुछ गरेर संक्षिप्त विवरण टिपेर छाडिरहेका थिए ।

रामेछापबाट बेहुला लिएर भक्तपुर आएका अर्जुन पौडेल प्रहरीले विवरण टिपिरहेको ठाउँमा आएर शनिबार फर्किने बताए । ‘गाडी नम्बर, जाने स्थानको विवरण लगायतबारे बताएपछि छाड्ने हो’ खटिएका प्रहरी जवानले भने, ‘बिहेको गाडीको हकमा माथिबाट भएको आदेश त्यही हो ।’

महामारीको दोस्रो लहर सुरू भएसँगै प्रशासनले निषेधाज्ञा लगाएको छ । तर, नागरिकले विवाह रोकेका छैनन् । प्रशासनले सकेसम्म पछाडि सारिदिन नभए अत्यन्त थोरै व्यक्ति मात्र सहभागी भएर बिहे सम्पन्न गर्न भनेको छ । साँगामा पुग्दा चाहिँ एउटै बिहेका लागि दुईवटा गाडीसम्म कुदाइएको भेटिन्छन् ।

जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा बिहेको गाडीलाई पास नचाहिने भनिएको छ । त्यसैले एउटै विहेमा दुईवटा गाडीसम्म लैजाने गरिएको देखिएको छ । नाकामा खटिएका प्रहरीहरु भने एउटै बिहे हो कि छुट्टै छुट्टयाउनै गाह्रो हुने बताउँछन् ।

प्रहरीले टिपेको तथ्यांकअनुसार शुक्रबार बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म साँगाबाट ८० वटा बिहेका गाडी उपत्यकाबाट बाहिरिएका छन् । यही अवधिमा २१ वटा बिहेका बस उपत्यका भित्रिएका छन् ।

नाकामा खटिएका एक अधिकृत भन्छन्, ‘कतिपय रित्ता गाडी आज शुभ विवाह मात्रै टाँसेर पनि आए, तिनीहरुलाई यहीँबाट फर्काइयो ।’

चेकजाँचमा कडाइ

साँगामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको संयुक्त चेकजाँच छ । अत्यावश्यक सवारीसाधनलाई त्यतिकै छाडिन्छ भने हरेक मोटरसाइकललाई सोधपुछ गरेर पास भए वा कार्यालयको प्रमाण पत्र हेरेर मात्र छाड्ने गरिएको छ ।

नेपाल प्रहरी पनि रहेको संयुक्त चेकजाँचमा पास नभएका तथा विना काम हिँडेका सवारीसाधन र मानिसहरु त्यहीँबाट फर्काइन्थे । विभिन्न स्थानीय तहबाट कतिपय सिफारिस बनाएर आएको भेटिए । तर, नाकामा खटिएका प्रहरीले त्यहीँबाट उनीहरुलाई फिर्ता पठाइदिए ।

अस्पताल, खाद्य सामग्री, कुरियर, तरकारीका गाडी लगायतलाई चाहिँ कुनै रोकतोक थिएन । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई नाकामा चेकजाँचमा कडाइ गरिएको बताउँछन् । उनी भन्छन्, ‘यो बिहेको सिजन पनि भएकाले आज केही मुभमेन्ट भयो, तर यसलाई त्यति धेरै भन्न पनि मिल्दैन ।’

विमास्थलबाट आउने नागरिक, विरामी, सरकारी कार्यालय र अन्य अत्यावश्क सेवाका कारण पनि अलिअलि भिड हुने उनले बताए । यद्यपि, यसलाई क्रमशः कडाइ गर्दै लगिने भट्टराईले बताए ।

हेर्नुस् तस्वीरहरु: 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment