News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकमा भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीका ६ हजार ३२९ निवेदन जिल्ला भूमि समस्या समाधान समितिमा परेका छन्।
- नापी कार्यालयका प्रमुख अशोक भुसालका अनुसार तीमध्ये ७०७ सुकुमवासी, १८३ दलित र ५ हजार ४३९ अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रविष्ट भइसकेको छ।
- प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले एक हजार दिनभित्र भूमिहीनको व्यवस्थापन गर्ने सरकारी लक्ष्यअनुसार विवरण सङ्कलन र प्रविष्टिको काम भइरहेको बताए।
२३ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् । सरकारले भूमिहीनको समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाएपछि जमिन पाउने आशामा उनीहरुले निवेदन दिएका हुन् ।
हालसम्म छ हजार ३२९ भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको जिल्लास्थित नापी कार्यालयले जनाएको छ ।
जिल्ला भूमि समस्या समाधान समितिमा भूमिहीनले निवेदन दिएको नापी कार्यालयका प्रमुख अशोक भुसालले जानकारी दिए । उनका अनुसार कुल निवेदनमध्ये जिल्लाका भूमिहीन सुकुमवासी ७०७ , भूमिहीन दलित १८३ र अव्यवस्थित बसोबासी पाँच हजार ४३९ को तथ्याङ्क प्रविष्ट भइसकेको छ ।
सरकारले गत जेठको तेस्रो साता नयाँ जिल्ला भूमि समस्या समाधान समिति गठन गरेसँगै समितिले जिल्लामा रहेका भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने काम अघि बढाएको थियो ।
समितिले जिल्लास्थित संघीय तथा प्रदेशका सांसद, जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षसँग छलफल गरी छुट निवेदन माग गरिएको जनाइएको छ ।
समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले असार मसान्तभित्र जिल्लामा रहेका भूमिहीन सुकुमवासी, दलित तथा अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी निर्देशानुसार विवरण प्रविष्टिलगायतको काम भइरहेको बताए ।
उनका अनुसार सरकारले एक हजार दिनमा भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिसक्ने लक्ष्यअनुसार नै जिल्लामा पनि काम भइरहेको छ ।
विगतमा छुटेका भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी प्रविष्ट गर्ने काम भइरहेको अधिकारीको भनाइ छ ।
‘विवरण सङ्कलनका क्रममा विगतमा भएका त्रुटिलाई सच्याउँदै प्रक्रिया अघि बढाइएको छ, कसैले बदनियत राखेको पाइए कारबाही गर्नेछौँ,’ अधिकारीले भने ।
प्रतिक्रिया 4