+
+
Shares

असोज ८ देखि ११ सम्म बीपी राजमार्गमा राति सवारी आवागमनमा रोक लगाइने

कपिल कोइराला कपिल कोइराला
२०८३ असोज ७ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीपहिरोको जोखिमका कारण असोज ८ देखि ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन रोक्ने निर्णय भएको छ।
  • मनसुन प्रतिकार्य कमाण्डपोष्ट काभ्रेपलाञ्चोकले जोखिम हेरी दिनको समयमा पनि सवारी सञ्चालन रोक्न सकिने जनाएको छ।
  • प्रशासनले सम्भावित विपद्का बेला सूचना प्रवाह, सुरक्षित स्थानमा स्थानान्तरण र उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

७ असोज, काभ्रेपलाञ्चोक । सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै असोज ८ गतेदेखि ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको छ ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकको बुधबार बसेको बैठकले असोज ८ गतेदेखि ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमनमा रोक लगाउने र सम्भावित जोखिमको अवस्था हेरी आवश्यक परे दिनको समयमा समेत सवारी सञ्चालनमा रोक लगाउन सकिने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार, विगतमा बाढीपहिरोबाट भएको क्षति र आगामी दिनमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो ।

दुई वर्षअघि आएको भीषण बाढीपहिरोका कारण बीपी राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुगेको थियो । त्यसपछि पनि राजमार्गका केही स्थानमा बाढीपहिरोको जोखिम कायम रहेकाले वर्षातको समयमा थप सावधानी अपनाउनुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ ।

राजमार्गमा आवागमन रोक्ने निर्णय कार्यान्वयनमा सहजीकरणका लागि सिन्धुली र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई समेत अनुरोध गर्ने निर्णय भएको छ ।

कमाण्ड पोष्टले नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित बाढीपहिरोबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे सूचना प्रवाहलाई निरन्तरता दिने निर्णय गरेको छ । स्थानीय सञ्चार माध्यम मार्फत समेत पूर्वसूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखालाई सहजीकरणका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।

सम्भावित विपद्का बेला नागरिकलाई समयमै सूचना उपलब्ध गराउने, जोखिमयुक्त स्थानमा रहेका बासिन्दालाई सचेत गराउने तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्नेसम्मका कार्यमा स्थानीय तहसँग समन्वय गर्ने तयारी गरिएको छ ।

त्यस्तै सम्भावित बाढीपहिरो तथा अन्य विपद्का घटनामा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न नेपाली सेना श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वार्टरबाट उद्धारमा खटिने टोलीलाई विभिन्न स्थानमा तयारी अवस्थामा राख्ने र स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर सम्पर्क र समन्वयमा रहने निर्णय समेत भएको छ ।

तस्वीर : मनसुन प्रतिकार्य कमाण्ड पोष्टका सदस्यहरू
लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?