+
+
Shares

ढुवानीका गाडीलाई अवरोध भएको व्यवसायीको गुनासो

ट्राफिक प्रहरी भन्छ : विहान १० बजेपछि रित्तो गाडी गुड्न दिन्नौं

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते २०:२६

१७ वैशाख, काठमाडौं ।‍ खाद्यान्न ढुवानी गरेर फर्केका रित्ता गाडीलाई प्रहरीले चल्न नदिएको भन्दै व्यवसायीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसमक्ष गुनासो गरेका छन् ।

निषेधाज्ञामा निर्वाध सञ्चालन गर्न दिइने भनिएको सवारी साधन रोकिँदा व्यवसायीले दुख पाएको नेपाल किराना व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले अत्यावश्यक सामान ढुवानी गरेर फर्केका रित्ता गाडीलाई बिललगायतका प्रमाण देखाउँदा पनि प्रहरीले दिनभरि होल्ड गरेपछि सहजीकरणका लागि मन्त्रीलाई आग्रह गरिएको बताए ।

‘उद्योग (मन्त्रालय) ले अवरोध हुन्न भन्ने तर प्रहरीले समातेर दुःख दिने भएपछि मन्त्रीलाई यसबारे अवगत गराएका हौं,भोलिदेखि  यस्तो नहुने बाचा गर्नुभएको छ,’ संघका अध्यक्ष श्रेष्ठले भने ।

उपत्यकाका विभिन्न ठाउँमा अत्यावश्यक सामान पुर्‍याएर फर्किएका गाडी होल्ड भएको गुनासो आफूलाई आएको श्रेष्ठको भनाइ छ ।

विहान १० बजेपछि रित्तो गाडी चल्न दिन्नौं

ट्राफिक प्रहरी महाशाखाले भने कुनै आधार र प्रमाण नभएका र बिहान १० बजेपछि गुडेका गाडीलाई नियन्त्रणमा लिएको बताएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले ढुवानी गरेर फर्किएको आधार प्रमाण नबोकी सञ्चालन भएका सवारी साधनलाई नियन्त्रणमा लिएको बताए । ‘खाद्यन्न ढुवानी वा अन्य कुनै आधार प्रमाण भएर चलेका सवारीलाई अवरोध छैन,’ उनले भने ।

सरकारले पसल खुल्न दिएको समयमा बिहान १० बजेसम्म मात्रै ढुवानीका खाली सवारी पनि चल्न दिने र पसल बन्द हुने समयमा खाली गाडी चल्न नदिने निर्देशन जिल्ला प्रशासन कार्यालयबाट आएको उनले बताए ।

‘उद्योगी व्यवसायीले कि त १० बजेसम्म सामान ढुवानी गरिसकेर रित्ता गाडी पनि फर्काउनु पर्‍यो, होइन भने सामान बोकेका गाडी मात्रै चलाउनुपर्‍यो,’ माहाशाखा प्रमुख भट्टराईले भने, ‘होइन भने रित्ता गाडी १० बजेपछि चल्न दिन्नौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?