+
+
Shares

डडेल्धुरा अस्पतालको कोभिड वार्ड संक्रमितले भरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १८ गते १८:४१

१८ वैशाख, धनगढी । डडेल्धुरा अस्पतालको कोभिड वार्ड संक्रमितले भरिएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको उपचारको केन्द्र डडेल्धुरा अस्पतालमा स्थापना गरिएको १६ शैय्याको वार्ड संक्रमितले भरिएको हो ।

सिनियर अहेब तथा सूचना अधिकारी टंकप्रसाद पन्तले शनिबारसम्म कोभिड वार्डका सबै शैय्या भरिएपछि थप संक्रमित आएमा उपचारमा समस्या सिर्जना हुने बताए । कोभिड वार्डमा भर्ना भएकामध्ये तीन जना आईसीयू र १३ जनालाई एचडीयू युनिटमा राखेर उपचार भइरहेको छ । उनीहरु सबैलाई अक्सिजन दिइरहेको र संक्रमितको संख्या वृद्धि भएमा अस्पतालमा अक्सिजनको समेत अभाव हुने पन्तले बताए ।

शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको अस्पतालले थप संक्रमितको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सम्बद्ध निकायसँग छलफल गर्ने काम भइरहेको जनाएको छ । ‘हामीसँग जडान भएको अक्सिजन प्लान्टबाट दैनिक २७ सिलिण्डर मात्र अक्सिजन उत्पादन भइरहेको छ,’ पन्तले अनलाइनखबरसँग भने, ‘अहिले भर्ना भएका सबै संक्रमितलाई अक्सिजन दिइरहेको अवस्थामा थप संक्रमित आएमा समस्या हुनसक्छ । धनगढी वा नेपालगञ्जबाट अक्सिजन खरिद गर्ने गरी तयारी थालेका छौं ।’

यस्तै अस्पतालले आफ्नो आधिकारिक फेसबुक पेजमा एक सूचना सार्वजनिक गर्दै तत्काल थप बिरामी भर्ना गर्न नसक्ने वास्तविकतामा पुगेको उल्लेख गरेको छ ।

‘हामी निकै गाह्रो समयको सामना गरिरहेका छौं, हामीले आफ्नो क्षमताभन्दा बढी आईसीयू र एचडीयूमा बिरामीहरू भर्ना गरिसकेका छौं,’ सार्वजनिक सूचनामा अस्पतालले उल्लेख गरेको छ, ‘यस्तो दिनसँग हामीले सामना गर्नुपर्ला भनेर सोचेका थिएनौं । तत्काल हामी थप बिरामीहरूलाई भर्ती गर्न नसक्ने वास्तविकतामा पुगेका छौं । यद्यपि हाम्रा बिरामीहरू निको हुने बित्तिकै हामी नयाँ केस भर्नेछौं । हाललाई अस्पताल सेवा पहिले नै संतृप्त भइसकेको कुरा सार्वजनिक गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?