Comments Add Comment

काठमाडौंबाहेक चार विमानस्थलबाट आकस्मिक उडानको अनुमति

२२ वैशाख, काठमाडौं । वायुसेवा कम्पनीले आपतकालिन अवस्थामा काठमाडौं बाहेक मोफसलका थप चार विमानस्थल कार्यालयबाट उडान अनुमति लिन सक्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकार प्रत्यायोजन गर्दै त्रिभुवन विमानस्थलबाहेक मोफसलका चार वटा विमानस्थलबाट समेत आकस्मिक उडानको अनुमति दिने निर्णय गरेको हो ।

प्राधिकरण स्रोतका अनुसार त्रिभुवन विमानस्थल कार्यालय, नेपालगन्ज नागरिक उड्डयन कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, सुर्खेत नागरिक उड्डयन कार्यालय र लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट आकस्मिक उडानको अनुमति लिन सकिने भएको छ । यसअघि काठमाडौंबाट मात्र आकस्मिक उडानका लागि अनुमति दिने व्यवस्था रहेको थियो ।

सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै मंगलबारबाट लागु हुने गरी आन्तरिक सेड्यूल उडान बन्द गरेको छ । भोलि (बिहीबार)बाट अन्तराष्ट्रिय सेड्यूल उडान बन्द हुनेछन् ।

तर, यसबीचमा मेडिकल, पर्वतारोहणमा गएका पर्वतारोहीको उद्धारका लागि हुने उडान भने गर्न सकिने छ । कार्गो र चार्टर्ड उडान समेत गर्न सकिन्छ । प्राधिकरणले सम्बन्धित कार्यालयलाई अधिकार प्रत्यायोजन गरि जारी भएका उडान अनुमतिको विवरण प्रधान कार्यालयमा पठाउन समेत कार्यालयहरुसँग अनुरोध गरेको छ ।

अहिले हजारौं पर्वतारोही र सहयोगी खुम्बु क्षेत्रमा छन् । उनीहरु आगामी एक/दुई साता भित्रै हिमाल आरोहण शुरु गर्दैछन् । त्यसपछि आरोहणका दौरान अफ्ठ्यारो हुनेहरुलाई हेलि उद्धार गर्नुपर्ने हुन्छ ।
साथै, आरोहणबाट र्फकनेहरुलाई लुक्लाबाट काठमाडौं ल्याउनु पर्ने हुन्छ । त्यसअवस्थामा वायुसेवा कम्पनीहरुले अब लुक्लास्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाटै उडान अनुमति लिएर पर्यटकको उद्धार गर्न सक्ने बाटो प्राधिकरणले खोलेको छ ।

यसबाहेक कोरोना भाइरसको महामारीका कारण गम्भीर प्रकृतिका बिरामीको हेलि उद्धारको काम समेत देशभर भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment