
२३ वैशाख, काठमाडौं । औद्योगिक प्रयोजनमा लगेर फिर्ता नभएको अक्सिजन सिलिण्डर उठाउन प्रहरी परिचालन भएको छ ।
बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका सचिवबीचको छलफलपछि प्रहरी परिचालन गरेर औद्योगिक प्रयोजनमा रहेको अक्सिजन सिलिण्डर उठाउने निर्णय भएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले अनलाइनखबरलाई बताए ।
बारम्बार अपिल गर्दा पनि उद्योगले सिलिण्डर फिर्ता नगरेपछि प्रहरी परिचालन गरेको र केही उद्योगबाट प्रहरीले सिलिण्डर फिर्ता ल्याउन सुरु गरिसकेकोे महानिर्देशक भुसालले बताए ।
औद्योगिक प्रयोजनका लागि धेरै मात्रामा अक्सिजन बिक्री गर्ने हाम्रो ग्यास उद्योगको मात्रै झण्डै ४ हजार सिलिण्डर होल्ड भएको प्रारम्भिक जानकारी विभागमा प्राप्त भएको पनि उनले बताए ।
‘भर्खरै मात्रै उक्त अक्सिजन उद्योगमा ४० वटा सिलिण्डर प्रहरीले फिर्ता ल्याएको छ, कुन उद्योगले कति सिलिण्डर लगेको भन्ने अक्सिजन उद्योगको विवरणका आधारमा प्रहरी खटिएको छ,’ महानिर्देशक भुसालले भने ।
अक्सिजन उद्योगहरुको समस्या बुझ्न, सिलिण्डर फिर्ताबारे सहजीकरण गर्न उद्योग र गृहसचिव अनुगमनमा निस्किएका पनि भुसालले बताए ।
कति छन् अक्सिजन सिलिण्डर ?
निजी क्षेत्रका उद्योगहरुसंग भएको हालसम्मको विवरणअनुसार देशभर एक लाख ८ हजार १६४ वटा अक्सिजन सिलिण्डर छन् । जसमा ६९ हजार ३५० वटा ठूला र ३८ हजार ८१४ वटा साना सिलिण्डर छन् ।
काठमाडौं उपत्यकामा मात्रै ठूलो सिलिण्डर ४७ हजार र सानो २९ हजार ९१० वटा रहेको विभागका महानिर्देशक जीवलाल भुसालले बताए ।
यस्तै काठमाडौंबाहिर २२ हजार ३५० वटा ठूलो र ८ हजार ९०४ वटा साना सिलिण्डर छन् । अक्सिजनको माग झण्डै ८० प्रतिशतले बढेका कारण सिलिण्डर होल्ड हुने क्रम बढेको र भएका सिलिण्डर पर्याप्त नरहेको महानिर्देशक भुसालको भनाइ छ ।
प्रतिक्रिया 4