Comments Add Comment

संक्रमितलाई भुँइमा राखेर उपचार, अक्सिजन पुर्‍याउनै हम्मे

२३ वैशाख, काठमाडौं । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीलाई अक्सिजन पुर्‍याउनै हम्मेहम्मे हुन थालेको छ । अस्पतालमा भर्ना भएका शतप्रतिशत संक्रमितलाई अक्सिजन सपोर्टमा उपचार गराउनुपर्ने बाध्यता रहेकोले अक्सिजन पुर्‍याउन हम्मेहम्मे परेको अस्पतालका कोभिड फोकल पर्सन डा. नन्दु पाठक बताउँछन् ।

‘रोटेसनमा दैनिक २०० सिलिण्डर अक्सिजन आपूर्ति हुन्छ । तर दैनिक अक्सिजनको माग ४०० देखि ४५० सिलिण्डर रहेको छ,’ डा. पाठक भन्छन्, ‘आपूर्ति रोटेसनमा अलिकति मात्रै गडबढी आयो भने उपचारमा ठूलो समस्या आउन सक्ने खतरा छ ।’

जिल्लामा सञ्चालित तीन वटा अक्सिजन उद्योगले दैनिक २०० सिलिण्डर अक्सिजन मात्रै अस्पताललाई आपूर्ति गर्ने गरेको उनी बताउँछन् ।

अस्पतालमा रहेको अक्सिजन प्लान्ट बिहीबार मात्रै मर्मत सम्भार गरेका कारण दैनिक २० सिलिण्डर अक्सिजन उत्पादन भएका कारण केही राहत मिलेको डा. गौतम बताउँछन् ।

लुम्बिनी प्रादेशिक अस्पतालले धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्पतालको एचडीयू र आईसीयू कक्ष भरिभराउ छन् । डा. गौतमका अनुसार एचडीयूमा ३६ जना र आईसीयूमा १५ जना संक्रमित छन् । ‘आकस्मिक कक्षको एउटै बेडमा २/२ जना संक्रमित राखेर उपचार गराइरहेका छौं,’ डा. पाठक भन्छन्, ‘तर पनि बेड अभावमा भुँइमा पनि संक्रमित राखेर उपचार गराइरहनु परेको छ ।’

लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा ५२ जना र कोभिड वार्डमा ८ जना बिरामी छन् । आकस्मिक कक्षको प्रत्येक बेडमा २/२ जना संक्रमित राखेर बिरामीको व्यवस्थापन गर्दा समेत बेड अभाव भएकाले बिरामीलाई भुँइमै राखेर उपचार गराउन बाध्य रहेको उनी बताउँछन् ।

‘अधिकांश बिरामी सास फेर्न गाह्रो भयो भन्दै आउनु हुन्छ । अस्पतालमा बेड खाली हुँदैन,’ अस्पतालका प्रवक्ता डा. विष्णु गौतम भन्छन्, ‘जसरी पनि भर्ना गरिदिनु पर्‍यो भन्दै हारगुहार गर्छन् । बरु भुँइमै बस्छौं । यहीं उपचार गरिदिनुस् भन्दै अनुरोध गर्छन् । बाध्य भएर भुँइमै अक्सिजन सपोर्ट दिएका छौं ।’

अस्पताल भरिभराउ भएपछि आकस्मिक कक्षको भुँइमा मात्रै नभएर अस्पतालको प्रांगणमै राखेर बिरामीको उपचार गराउनु परेको डा. गौतम बताउँछन् । गौतम भन्छन्, ‘अक्सिजन सपोर्टमा भुँइमा म्याट ओच्छ्याएर, टुल तथा बेञ्चमा पनि राखेर बिरामीको उपचार गराउनु पर्ने बाध्यता छ ।’

डा. गौतम अघि भन्छन्, ‘उपचारमा आउने संक्रमितको चाप अत्याधिक छ । अस्पतालले थेग्न सक्ने अवस्था छैन । तैपनि अस्पताल आइसकेका बिरामीलाई सबै जानकारी दिएरै उपचार गराइरहेका छौं ।’

अस्पतालमा बेडको मात्रै होइन, संक्रमितको संख्या अत्याधिक भएका कारण जनशक्तिको पनि अभाव रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment