Comments Add Comment

निफमा अनुरागले भने–‘नेपालका हिमश्रृङ्खलाबाट प्रभावित छु’

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)’को चौथो संस्करण बिहिबारबाट सुरु भएको छ । नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मी माझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्यले यो महोत्सवको आयोजना हुँदै आएको छ । कोरोना महामारीका कारण अनलाइनको माध्यमबाट यो महोत्सवको आयोजना गरिएको हो ।

कार्यक्रममा आफ्नो अनुभव साट्दै बलिउडका सफल निर्माता तथा निर्देशक अनुराग कश्यपले आफ्नो अनुभव सुनाएका थिए । उनले आफू पटक–पटक नेपाल आएको र नेपालका हिम श्रृङ्खलाहरुबाट प्रभावित भएको बताए । नेपालमा चाडै नै चलचित्रको छायांकन गर्ने योजना समेत आफूले बनाएको उनको भनाई थियो ।

उनले भने–‘नेपालका मनोरम दृश्य, नेपाली कथा विश्व बजारले नै उत्साहका साथ हेरिरहेको छ । मैले आफू लण्डनमा रहेको बेला डीभीडीमा कालो पोथी र सेतो सूर्य हेरेको थिएँ ।’

यो महोत्सवको उद्घाटन सत्र निफका अध्यक्ष केपी पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्टोरी बैंक मार्फत नेपाली चलचित्रलाई विश्वसामु लैजान आवश्यक रहेको र यसका लागि गृहकार्य पनि भैरहेको बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयाँल, चलचित्रकर्मी निर शाह, अन्तराष्ट्रिय फिल्म सोसाइटी फेडरेशनका अध्यक्ष पोर्चुगलका ज्वाओ पाउलो मसेदो, निर्देशक तुलसी घिमिरे लगायतले आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment