+
+

लुम्बिनीमा अस्पताल बेड र स्वास्थ्यकर्मी थप्न विपक्षी दलको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते १९:०३

२४ वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा शय्या र जनशक्ति थप गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले शुक्रबार विज्ञप्ति निकालेर प्रदेशका सबै जिल्ला अस्पताल, नेपालगञ्जको प्रहरी र आर्मी अस्पतालाई कोभिड अस्पालमा रुपान्तरण गरी ८५० एचडीयू बेड थप्न माग गरेका छन् ।

त्यस्तै रुपन्देहीको देवदह मेडिकल कलेज वा क्रिमसन अस्पताल र बाँकेको कोहलपुर मेडिकल कलेजलाई पूर्ण कोभिड अस्पतालको रुपमा रुपान्तरण गरी ३५० आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न आग्रह गरेका छन् ।

दाङ बेलझुण्डीको आयुर्वेद अस्पताललाई पूर्ण कोभिड अस्पतालमा रुपान्तरण गरी १५० बेड विस्तार गरी ३० बेडको आईसीयू निर्माण गर्न, विगतमा सञ्चालन गरिएका सबै आइसोलेसन अस्पताललाई अक्सिजनसहित १५ सय बेड निर्माण गर्न पनि विपक्षी दलहरुले माग गरेका छन् ।

लुम्बिनी प्रदेशका सबै अक्सिजन प्लान्टमा विद्युत आपूर्तिसहित मर्मत सम्भार गरी सिलिण्डरको व्यवस्था गर्न, उद्योगहरुले प्रयोग गर्ने अक्सिजन सिलिण्डर अस्पताल प्रयोजनको लागि परिचालन गर्न पनि उनीहरुले माग गरेका छन् ।

विज्ञप्तिमा गत वर्षको कोभिड व्यवस्थापनको लागि स्वीकृत गरिएको स्वास्थ्यकर्मीको ५ सय ८३ दरबन्दी अपर्याप्त रहेको हुँदा कम्तीमा १२ सय स्वास्थ्यकर्मीको दरबन्दी व्यवस्था गर्न, सरकारी छात्रवृत्तिमा पढिरहेका डाक्टरलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड महामारीमा परिचालन गर्न पनि माग गरेका छन् ।

विपक्षी दलहरुले भारतबाट नेपाल भित्रिनेहरुलाई नाकामै भरपर्दो चेकजाँचको व्यवस्था र आइसोलेसन सेन्टरको स्थापना गरी संक्रमितलाई त्यहीँ उपचार व्यवस्था गर्न पनि माग गरेका छन् । अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई निशुल्क खाना व्यवस्था गर्न पनि उनीहरुको माग छ ।

विपक्षी दलहरुले प्रदेश सभा सदस्यहरुलाई १२ वटै जिल्लाको अस्पताल र संक्रमितको अवस्था अनुगमन गर्न खटाएका छन् ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसी, नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खांन, जसपा नेपालका सचेतक पुर्मती ढेंगामगर र राजमोका तारा जिसीले हस्ताक्षर गरेको विज्ञप्तिमा मुख्यमन्त्री शंकर पोखरेलले आईसीयू बेड र भेन्टिलेटर वेडको विस्तार र अक्सिजनको व्यवस्था गर्नुपर्ने बेला दुई दिनमा ४ जना स्वास्थ्यमन्त्री फेरबदल गरेर मन्त्री पद बाँडेको आरोप लगाइएको छ ।

अहिलेको अवस्था आउनुमा लुम्बिनी प्रदेश सरकारको लाचारीपना, लापरबाही र असक्षमता भएको ठहर चार दलको गठबन्धनले गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?