Comments Add Comment

सगरमाथामा कोरोना फैलिएको छैन : पर्यटन मन्त्रालय

फाइल तस्वीर

२४ वैशाख, काठमाडौं । प्रचारमा आएजस्तो सगरमाथामा स्वास्थ्य जोखिम नभएको सरकारले बताएको छ ।

बीबीसीसहित अन्तर्राष्ट्रिय संचारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै समाचार प्रकाशन–प्रसारण गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो खबरको खण्डन गर्दै पर्वतारोहीमा कोभिड-१९ को संक्रमण व्यापक फैलिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ ।

मन्त्रालयले भनेको छ, ‘सम्पर्क अधिकृतले आरोहण दलका नेताको सम्पर्कबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको आधारमा पर्वतारोहीको स्वास्थ्य स्थितिका सम्बन्धमा यकिन गरिने हुँदा हालसम्म प्रचार गरिएजस्तो स्वास्थ्य जोखिम भएको जानकारी प्राप्त भएको छैन ।’

अहिलेसम्म ७४५ अनुमति प्राप्त आरोहीमध्ये कुनै पनि कम्पनी वा आरोहण दलको सरदारबाट टीमको कुनै पनि सदस्य कोरोना संक्रमित भई आरोहण अभियानबाट फिर्ता गर्नुपरेको रिर्पोट सरकारलाई आएको छैन ।

यसरी आएका समाचारलाई मन्त्रालयले भ्रमपूर्ण र त्रास फैलाउने खालका मात्र भएको बताएको छ । मन्त्रालयका अनुसार अहिले पर्यटन विभागबाट आरोही दलको आरोहण गतिविधि र महत्वपूर्ण समाचार नियमित रूपमा प्रवाह गर्न हरेक दलसँग एक–एक जना सम्पर्क अधिकृत खटिएका छन् । ती सम्पर्क अधिकृतका माध्यमबाट बुझ्दा हिमालमा स्वास्थ्य जोखिम नभएको मन्त्रालयले जनाएको छ ।

सगरमाथा आधार शिविरमा रहेकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार आज एक टोली सगरमाथाको क्याम्प टुबाट फाइनल समिटका लागि प्रस्थान गरेको छ ।मन्त्रालयका अनुसार जारी सिजनमा ७९ मुलुकका ८६ टोलीमा कुल ७४५ जनाले विभिन्न हिमाल चढ्न अनुमति लिएका छन् । सबै आरोहीहरू पीसीआर नेगेटिभ रिर्पोट लिएर आरोहणमा गएका हुन् ।

शनिबार बिहानसम्म डोरी टाँग्ने टीम चुचुरोमा पुगेमा आरोहीको पहिलो टोली चुचुरोतर्फ लाग्ने उनले अनलाइनखबरलाई जानकारी दिइन ।

गलत प्रचार गर्नेका अनेक दाउ हुनसक्छन्

तारानाथ अधिकारी

सहसचिव तथा प्रवक्ता

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

हिमालमा कोरोनाबारे आएको खबरको वास्तविकता के हो ? यस बारेमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता तारानाथ अधिकारी सत्यता नभएको बताउँछन् । उनको भनाइ छः-

यो सिजनमा हिमालमा कुल ७४५ जना आरोहीले आरोहण अनुमति लिएका छन् । हिमाल आरोहण एक अनुशासित र संवेदनशील काम हो । यहाँ कुनै पनि खालको जोखिममा काम हुँदैन ।

सगरमाथा आधार शिविरमा पर्यटन विभागबाट अनुमति लिएका आरोहीबाहेक पदयात्राका लागि गएका पर्यटक, उनीहरूका सहयोगी, भरिया, नेपाल सरकारका अधिकृतहरू र उद्धारकर्मीहरूसमेत पुगेका छन् ।

अहिलेसम्म ७४५ अनुमति प्राप्त आरोहीमध्ये कुनै पनि कम्पनी वा आरोहण दलको सरदारबाट टीमको कुनै पनि सदस्य कोरोना संक्रमित भई आरोहण अभियानबाट फिर्ता गर्नुपरेको रिर्पोट सरकारलाई आएको छैन ।

आरोहण अनुमति प्राप्त एक जना पनि पर्वतारोहीमा कोरोना देखिएको पुष्टि हुने कुनै आधार सरकारी निकायमा पेस भएको छैन । एउटा विषय के स्पष्ट हुनुपर्छ भने ५५ सय मिटरको उचाईमा कोरोना संक्रमित बिरामी अडिन सक्ला ? आधार शिविरबाट क्याम्प वान, क्याम्प टु जान सक्ला ?

जहाँसम्म कोरोना संक्रमणको विषय छ, हिमालमा स्वास्थ्य समस्या भएर काठमाडौं आएको कुनै व्यक्तिमा काठमाडौंमा परीक्षण गर्दा कोरोना पुष्टि भयो भने सगरमाथामा कोरोना फैलियो भनेर प्रचार गर्न मिल्दैन ।

किनकी उसलाई कहाँबाट कोरोना पुष्टी भयो भन्ने कसरी पुष्टी हुन्छ ? स्वाव संकलनका क्रममा अस्पतालबाटै पो सर्‍यो कि ? किनकि हिमालमा मानिसलाई रुघा लाग्नु, ज्वरो आउनु, लेक लाग्ने विगतमा पनि हुन्थ्यो, यो त उचाईका कारण हुने स्वास्थ्य समस्या हो ।

कोरोना भयो भन्दै प्रचार गर्नेका अनेक दाउ हुनसक्छन् । विगतमा पर्यटककै मिलेमतोमा बीमा रकमका लागि नक्कली उद्धार हुने गरेको विषय पुष्टि भएकै हो ।

कोरोनासँग मिल्दोजुल्दो समस्या भएका सबै मानिसमा कोरोना पुष्टी भयो भन्न मिल्दैन । हिमालको नजिकै बसेर मलाई कोरोना भयो भन्दै प्रचार गर्नेका अनेक दाउ हुनसक्छन् । विगतमा पर्यटककै मिलेमतोमा बीमा रकमका लागि नक्कली उद्धार हुने गरेको विषय पुष्टि भएकै हो ।

अर्कोतर्फ पर्वतारोहणबाहेक पनि हिमालमा मानिस पदयात्राका सिलसिलामा पुग्ने गर्छ । कुनै एक पदयात्री वा उनीहरूका सहयोगीहरूमा कोरोना देखियो भने पर्वतारोहीमा कोरोना देखियो भन्न मिल्दैन ।

किनकि अहिले पर्वतारोहीलाई पीसीआर नेगेटिभ रिर्पोटपछि मात्र आरोहणमा जान दिइएको छ । आधार शिविरमा पुगेपछि पनि सामाजिक दूरी, मास्क लगाउने र एक समुहको आरोही अन्य समूहमा जान दिइएको छैन । यसले कोरोना देखिइहालेमा समेत नफैलियोस भन्नेमा सचेतना अपनाइएको छ ।

सगरमाथा आधार शिविरमा चिकित्सकसहितको टोली छ । त्यहाँ हाम्रा अनुभवी कर्मचारी व्यवस्थापनमा खटिनु भएको छ । त्यहाँबाट हामीले पाएको रिर्पोटिङ अनुसार सगरमाथामा अवस्था सामान्य छ । सबै उच्च मनोवलका साथ खटिनु भएको छ । काठमाडौंमा बसेर प्रचार गरेजस्तो अवस्था सगरमाथामा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment