Comments Add Comment

सिन्धुपाल्चोकका सबै पालिकामा आइसोलेसन कक्ष तयार

२८ वैशाख, चौतारा । कोभिड–१९ को दोस्रो लहर सुरु भई संक्रमितको संख्या दैनिक वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार गरिएको छ । चौतारामा २५ वटा अक्सिजनसहित २६ बेड, बाह्रबिसेमा १० र मेलम्चीमा १२ बेडको आइसोलेसन कक्ष तयार भइसकेको जनाइएको छ ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार ९० वटा अक्सिजन सिलिण्डरमध्ये ६३ वटा विभिन्न पालिकामा पठाइएको छ ।

भोटेकोशी गाउँपालिका–५ को चाकुमा चिकित्सक तथा अक्सिजनसहितको आठ बेड, वडा नम्बर ४ मा १० बेडको क्वारेन्टिन तथा सखुवाको नयाँपुलमा हेल्थ डेस्क स्थापना गरी प्रहरी र स्वास्थ्यकर्मीको समन्वयमा जाँच सुरु गरिएको छ । संक्रमितका लागि तीनवटा एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याइएको छ । पालिका प्रवेश गर्ने सबैको परीक्षण गरी लगत राख्ने काम भइरहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

कोभिड–१९ संक्रमितको लागि सुनकोशी गाउँपालिकाको खाडीचौरस्थित सदाबहार अस्पतालमा १० बेडको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ । त्यसैगरी लिसंखु पाखर गाउँपालिकाले डाँडापाखरमा अक्सिजनसहितको १० बेड, त्रिपुरासुन्दरी गाउँपालिकाले धुस्कुन, पिस्कर र तौथलीसहित तीन वडामा अक्सिजनसहितको ४५ बेड र जुगल गाउँपालिकाले ७० बेडको आइसोलेसन कक्ष तयार गरेको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाले पनि तिपेनीस्थित स्वास्थ्यचौकीमा अक्सिजनसहित १० बेडको आइसोलेसन कक्ष तयार भएको उपाध्यक्ष सुनिता अधिकारीले बताइन् ।

हेलम्बु गाउँपालिकाको तीन वडामा ३५ बेडको आइसोलेसन कक्ष तयार भए पनि संक्रमित बिरामीहरु जान नचाहेपछि सबै आफ्नै घरमा आइसोलेसनमा बस्दै आएको पालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

यसैगरी इन्द्रावती गाउँपालिकाले पनि सिपापोखरेमा १३ बेडको आइसोलेसन कक्ष तयार गरेको छ । अक्सिजन तथा चिकित्सक र नर्ससहितले सेवा प्रदान गर्ने गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment