Comments Add Comment

पर्साको जगरनाथपुरमा कोरोना संक्रमण नै फैलिएको पुष्टि

२८ वैशाख, वीरगञ्ज । १० दिनमा १० जनाको मृत्यु भएको पर्साको जगरनाथपुर गाउँपालिका–५ मा कोरोना संक्रमण नै फैलिएको प्रमाणित भएको छ । स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर ११ जनाको एन्टिजेन परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

परीक्षण गरिएकामध्ये ६४ प्रतिशतमा संक्रमण देखिनुले कोरोना समुदायमै फैलिसकेको पुष्टि हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहका अनुसार स्वास्थ्य कार्यालयले पठाएको टोली र गाउँपालिकाको गरी १२ जना स्वास्थ्यकर्मीको टोली मंगलबार चिलझप्टी गाउँमा पुगेको थियो ।

उनीहरुलाई तीन वटा समूहमा परिचालन गरिएको थियो । दुईवटा समूहले घर–घरमा गएर ज्वरो, खोकीलगायत कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरुको खोजी गरेका थिए ।

उनीहरुले ज्वरो, खोकी आएका सर्वसाधारणलाई परामर्श दिनुको साथै सामान्य उपचार पनि गरे । साथै शंकास्पद मानिसहरुलाई नेपाल राष्ट्रिय प्रावि चिलझप्टीमा स्वाब संकलनका लागि पठाए भने एउटा प्राविधिक टोलीले स्वाब नमुना संकलन गर्‍यो ।

गाउँमा १७६ जना ज्वरोका बिरामी पहिचान गरिएको र २५ जनाको पीसीआरका लागि स्वाब नमुना संकलन गरेको स्वास्थ्य शाखा प्रमुख साहले बताए ।

‘एकै ठाउँमा मानिसहरु धेरै जम्मा पार्न मिल्दैन थियो, त्यसैले पहिला ज्वरो, खोकीलगायत लक्षण भएका मानिस खोज्यौं,’ उनले भने, ‘विद्यालयमा पठाएर स्वाब नमुना संकलन गरायौं ।’

पालिकामा पीपीई सेटलगायत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री नहुँदासमेत मागेर प्रयोग गरेको उनले बताए । गत वर्ष जस्तो जगरनाथपुर गाउँपालिकाले यस वर्ष कुनै सामुदायिक आइसोलेसन सेन्टर समेत बनाएको छैन । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर चिलझप्टीमा लकडाउनको पूर्ण पालना गर्नुपर्ने स्थिति देखिएको बताए ।

‘नमुना एन्टिजेन परीक्षणको नतिजाले नै समुदायमा संक्रमण फैलिसकेको संकेत गर्छ । निषेधाज्ञालाई पूर्ण पालना गराउनुपर्छ,’ उनले भने, ‘२५ जनाको रिपोर्ट आएपछि ट्रेसिङमा परेकाहरुको कोरोना परीक्षण गर्नुपर्छ, सिकिस्त भइहाले अस्पताल ल्याउन आवश्यक तयारी  हुनुपर्छ ।’

कोरोना प्रमाणित भई सामान्य लक्षण भएकालाई स्वास्थ्यकर्मीको परामर्शमा होम आइसोलेसन वा सामुदायिक आइसोलेसनमा बस्ने व्यवस्था मिलाउने उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले स्थानीय प्रहरीको सहयोग लिएर चिलझप्टी गाउँलाई सिल गर्न पालिकालाई आग्रह गरिएको बताए ।

‘२५ जनाको पीसीआर परीक्षण रिपोर्ट आएपछि स्थितिबारे थप स्पष्टता आउँछ । तर गाउँमा कोरोना संक्रमण नै फैलिएको जस्तो देखिएको छ,’ उनले भने, ‘गाउँमा मानिसहरुको मुभमेन्ट हुन नदिन भनेका छौं, गम्भीर बिरामी देखिए वीरगञ्ज ल्याउने व्यवस्था गर्न र सामान्य बिरामीहरुको पालिकाको स्वास्थ्य शाखालाई निगरानी गर्न भनिएको छ ।’

गाउँपालिका नेतृत्वविहीन हुँदा समस्या

गाउँपालिका प्रमुख जालिम मियाँ श्रीमतीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौंमा छन् । प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह पालिकामा हाजिर भएका छैनन् । उनी जगरनाथपुर गाउँपालिका नजाने मनस्थितिमा रहेको स्रोतले बताएको छ ।

वैशाख १० गतेबाट पालिकामा कार्यरत नायब सुब्बा सन्दीप पटेल निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् ।

गाउँमा कोही कोरोनाबाट गम्भीर बिरामी परेको खण्डमा नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा उपचारका लागि लैजाने गरी अध्यक्ष जालिम मियाँले समन्वय गरिसकेको उनले बताए । त्यस्ता संक्रमितलाई पालिकाकै एम्बुलेन्सले निःशुल्क अस्पतालसम्म पुर्‍याउनेछ ।

यसका साथै गाउँपालिकाले सिटामोल, भिटामिन सी, जिंक चक्की लगायत सामान्य अवस्थाका संक्रमितलाई दिने औषधिका १ हजार प्याकेट खरिद प्रक्रिया सुरु गरिसकेको उनले बताए । ती औषधि होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई घर–घरमै वितरण गर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment