Comments Add Comment

अक्सिजन खोज्दै मध्यरातमा सिडिओ कार्यालयमा हारगुहार

२९ वैशाख, बुटवल । दुई सय बिरामी उपचाररत रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा अक्सिजन अभाव भएको भन्दै अस्पताल सञ्चालकहरु राति १२ बजे गुहार माग्दै प्रमुख जिल्ला अधिकारीको निवास अगाडि पुगे । तर सिडिओबाट रेस्पोन्स नआएको भन्दै अस्पतालको अर्को टोली अक्सिजन खोज्दै छिपागढस्थित शंकर ग्यास उद्योगतर्फ दौडियो ।

गएराति सवा १२ बजेसम्म सिडिओ कार्यालयको मुख्य गेट अगाडि उभिएका अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको फोन नउठेको र अंगरक्षकमार्फत् खबर पठाउँदा पनि रेस्पोन्स नआएको गुनासो गर्दै थिए ।

गुरुङका अनुसार अक्सिजन लिन चितवन गएको अस्पतालको गाडी फर्किने बेला स्थानीय प्रशासनले रोकिदियो । त्यही गाडी छिटो अस्पताल फर्किने वातावरण बनाइदिन आग्रह गर्न गुरुङ सिडिओ कार्यालय अगाडि पुगेका थिए । दुई घण्टा कुर्दासम्म पनि सिडिओसँग भेट्न नपाएको गुनासो उनले गरे ।

१५० वटा जम्बो अक्सिजन सिलिण्डर बोकेको गाडी चितवनबाट आउने–नआउने निश्चित नभएपछि अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल ढकालसहितको अर्को एक टोली अक्सिजन खोज्दै छिपागढस्थित शंकर ग्यास उद्योगमा पुगेको थियो।

‘अस्पतालमा उपचाररत बिरामीलाई पुग्ने अक्सिजनले राति १ बजेसम्म मात्रै धान्छ, चितवनबाट आउन ढिला गरे बिरामीको ज्यान जोखिममा पर्छ,’ गुरुङ भन्दै थिए । उनले भने, ‘सिडिओ साबले चितवन प्रशासनसँग सहजीकरण गरिदिनुहुन्छ कि भन्ने आशले यो मध्यरातमा, पानी परिरहेको बेलामा यहाँ दुई घण्टादेखि कुरिरहेका छौं ।’ सिडिओसँग भेट हुने आशमा गेट अगाडि कुर्दाकुर्दै चितवनबाट गाडि हिँडेको सूचना आएपछि गुरुङसहितको टोली फर्कियो ।

सरकारले अस्पतालहरुलाई अक्सिजन कमी हुन नदिने बताइरहेको बेला भैरहवाको यो पछिल्लो घटनाले अस्पतालको अवस्था कति तनावपूर्ण छ भन्ने देखाउँछ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले आफूले चितवनसँग समन्वय गरेरै अक्सिजन अस्पतालसम्म ल्याइपुर्‍याइएको बताए । ‘कास्कीबाट पनि थप एक सय सिलिण्डर आयो,’ उनले भने । यद्यपि अस्पताल सञ्चालक भने यसबाट तत्कालको लागि सम्भावित जोखिम टरे पनि दीर्घकालीन रूपमा समस्याको समाधान अझै हुन नसकेको बताउँछन् ।

युनिभर्सल मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत कमल ढकालले चितवनबाट ल्याइएको अक्सिजनले १५० मिनेटसम्म मात्र धान्ने भन्दै संकट टरिनसकेको बताए । ‘हाम्रो अस्पतालमा हाल ६५० अक्सिजन सिलिण्डर खपत भइरहेको छ । आपूर्तिको सुनिश्चितता चार सय पनि छैन,’ ढकालले भने, ‘अक्सिजनको तनावले हामी चार दिनदेखि सुतेका छैनौं ।’

स्थानीय उद्योगबाट चार सय २० र बाहिरबाट २ सय सिलिण्डर आपूर्तिका लागि अस्पतालले सम्झौता गरे पनि सो परिमाणमा अक्सिजन अस्पतालमा नआउने गरेको उनको भनाइ छ । ‘सम्झौता अनुसारको अक्सिन आइपुग्दैन, बीच बाटोबाटै कहाँ जान्छ–जान्छ,’ उनले भने ।

युनिभर्सल मेडिकल कलेजमा कोभिड र ननकोभिड गरी हाल २ सय जना बिरामी उपचाररत छन् । तीमध्ये अक्सिजन चाहिने खालका १ सय ८० जना बिरामीहरु रहेको ढकालले बताए । उनका अनुसार कोभिडका बिरामीमात्रै ९० जना छन् । ४० जना बिरामी भेन्टिलेटरमा र ७० जना आइसियूमा छन् ।

युनिभर्सल मेडिकल कलेजले १० दिन अगाडि पनि जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलाई पत्र लेखेर अक्सिजन अभावबारे जानकारी गराएको थियो । अक्सिजनको समस्या नसुल्झिएपछि एक हप्ता अगाडि पनि सूचना जारी गरेर नयाँ बिरामी भर्ना बन्द गरिएको जानकारी दिएको थियो ।

कोरोना संक्रमित बिरामी बढेसँगै धेरै अस्पतालहरुले अक्सिजन आपूर्ति सहज हुन नसकेको भन्दै नयाँ बिरामी भर्ना नलिने घोषणा गरिसकेका छन् । भक्तपुर इन्टरनेशन अस्पतालमा दुई जनाले र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एक जनाले अक्सिजन अभावकै कारण ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment