Comments Add Comment

कर्मचारी संक्रमित हुँदा सप्तरीमा भेन्टिलेटर चलेन

२९ वैशाख, सप्तरी । चार दिनदेखि ज्वरो आएपछि राजविराज नगरपालिका-९ गढिया निवासी ३८ वर्षीय पुरुषलाई आइतबार गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरियो ।

सोही दिन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको छ । मंगलबार चिकित्सकले उनलाई तत्कालै भेन्टिलेटरमा राख्नुपर्ने भने पनि त्यहाँ उपलब्ध नभएपछि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भयो ।

यो अस्पतालमा चारवटा भेन्टिलेटर जडान भए पनि चलाउने प्राविधिक नहुँदा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आयो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झा भेन्टिलेटर चलाउने प्राविधिक कोरोना संक्रमित भएपछि चलाउन नसकिएको बताउँछन् ।

‘भेन्टिलेटर जडान गरेर सञ्चालन गर्ने बेला यो चलाउने तीन जना कर्मचारी एकै पटक संक्रमित भए’ डा. झाले भने, ‘धेरै मिहिनेत पश्चात जडान गरायौं । प्राविधिक पनि खोजी गर्‍यौं । तर, जडान भइसकेको अवस्थामा चलाउने व्यक्ति नै संक्रमित भएपछि समस्या भएको छ ।’

उनका अनुसार भेन्टिलेटर चलाउने एनेस्थियोलोजिष्ट मेडिकल अधिकृत, अहेब र स्टाफ नर्स संक्रमित भएका छन् । अस्पतालको आईसीयू र आकस्मिक कक्षमा काम गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मी पनि कोरोनाबाट संक्रमित भएको डा. झाले बताए । उनका अनुसार चिकित्सकसहित अस्पतालका १२ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

एकै पटक १२ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको डा. झाको भनाइ छ । ‘त्‍यही पनि जसोतसो सेवा दिइरहेका छौं’ उनले भने, ‘भेन्टिलेटरको जनशक्तिका लागि प्रदेश सरकार, संघीय सरकार र विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयसम्म पहल गरेका छौं ।’

जनशक्ति आउने बित्तिकै भेन्टिलेटर सञ्चालन हुने उनले बताए । ‘अहिले भेन्टिलेटर नहुँदा सप्तरीका कोरोना संक्रमितलाई धरान, विराटनगर कुद्नुपरेको छ । तर, उता पनि भेन्टिलेटर नपाउँदा ज्यानै गुमाउनु परिरहेको छ’ डा. झाले भने ।

अक्सिजनका लागि दैनिक दौडधूप

राजविराजका ३८ बर्षीय पुरुषलाई अक्सिजनकै सपोर्टमा एम्बुलेन्समा राखी विराटनगर लगिरहेका बेला बाटोमै अक्सिजन सकिएको थियो । बिरामीका आफन्तले विराटनगरसम्म पुर्‍याउन अस्पतालसँग अक्सिजनको सिलिण्डर माग गरेको थियो । तर, अस्पतालले दिन नसक्दा उनको बाटोमा नै मृत्यु भएको आफन्त बताउँछन् ।

यो अस्पतालमा अहिलेसम्म अक्सिजनको ९७ वटा सिलिण्डर मात्रै छ । यो सिलिण्डरले कोरोना संक्रमितलाई सेवा दिन हम्मे–हम्मे परेको डा. झाले बताए । अस्पतालमा हालै २५ वटा एचडियु बेड निर्माण भएको छ । यो सबै बेडमा कोरोना संक्रमित बिरामी छन् ।  ‘यहाँ भर्ना भएका सबै अक्सिजनको सपोर्टमै छन्’ डा. झाले भने, ‘प्रत्येक मिनेटमा १० लिटरसम्म अक्सिजन खपत भइरहेको छ ।’

अस्पतालमा सिलिन्डर संख्या कम भएकाले बिरामीलाई पुर्‍याउन कठिन भएको डा. झा बताउँछन् । अहिले अस्पतालले सिलिन्डर खालीबित्तिकै भर्नका लागि इटहरीस्थित उद्योगसम्म पठाउने गरेको छ ।  ‘अहिले पनि ५४ वटा सिलिण्डर भर्नका लागि पठाएको छु’ उनले भने, ‘खाली हुनेबित्तिकै एउटा गाडी इटहरी गएर सिलिण्डर भरेर ल्याउने गरेको छ ।’

इटहरी भन्दा नजिक पर्ने भएकाले लाहानको उद्योगसँग पनि सिलिन्डर भर्नेबारे कुरा भइरहेको उनले बताए । अस्पतालमा सरकारले अक्सिजन प्लान्ट राख्न टेण्डर आह्वान गरेपनि सामग्री नपाउँदा काम अगाडि बढ्न नसकेको सूचना आफूले पाएको डा. झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment