Comments Add Comment

नेपालले अमेरिकासँग माग्यो खोप र स्वास्थ्य सामग्री

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूतबीच टेलिफोन वार्ता

३० वैशाख, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई सक्दो छिटो खोप पाउने वातावरण मिलाइदिन नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीलाई आग्रह गरेका छन् ।

बिहीबार रााजदूतसँग टेलिफोनमा कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले कोराना भाइरसको तीव्र फैलावट रोक्न अमेरिकी सरकारबाट खोप सहयोग चाहेको बताए ।

त्यस्तै भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पतालका लागि आवश्यक पूर्वाधारको पनि सहयोग आशा गरेको पोखरेलले बताएका उनको सचिवालयले जनाएको छ ।

जवाफमा अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्री सहयोग गरिने जानकारी दिए । तर उनले के के सामग्री सहयोग गर्ने भन्नेबारे आइतबार मात्र टुंगो लाग्ने बताए ।

खोप सहयोगबारे भने राजदूत बेरीले केही ठोस कुरा बताउन सकेनन् । ‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु, टुंगो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु’ राजदूत बेरीले भने ।

अमेरिकी राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका उनका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment