Comments Add Comment

कोभिड–१९ : नेपालको अवस्था भारतको भन्दा भयावह

३० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणमा नेपालको अवस्था छिमेकी मुलुक भारतभन्दा पनि भयावह देखिएको छ ।

नयाँ संक्रमित र मृत्यु हुनेको संख्याको आधारमा भारतमा अवस्था नेपालको भन्दा भयावह देखिए पनि जनसंख्याको अनुपातको आधारमा हेर्ने हो भने नेपाल भारतभन्दा धेरै अगाडि देखिएको छ ।

आवर वर्ल्ड इन डेटाको बिहीबारसम्मको तथ्यांकअनुसार एक साताको औसतमा नेपालमा प्रति १० लाखमा दैनिक ३०७ नयाँ संक्रमित फेला परिरहेका छन् भने भारतमा यो संख्या २६४ मात्र छ ।

गत वैशाख २५ सम्मको अवस्थालाई हेर्ने हो भने जनसंख्याको अनुपातमा नयाँ संक्रमित भेटिने संख्या नेपालमा भन्दा भारतमा धेरै थियो । वैशाख २५ सम्मको तथ्यांकअनुसार साप्ताहिक औसतमा नेपालमा प्रति १० लाखमा २७९ मा कोरोना संक्रमण देखिएको थियो ।

जबकी भारतमा यो संख्या २८३ थियो । त्यसपछिको एक साताभन्दा पनि कम समयमा नै नेपाल आनुपातिक हिसाबमा कोरोना संक्रमितको संख्यामा भारतभन्दा निकै अगाडि देखिएको हो । भारतमा भने सो अवधिमा कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तर कमी आइरहेको देखिन्छ । यो तथ्यांकअनुसार भारतमा कोरोना संक्रमणमा केही कमी आए पनि नेपालमा भने यो संक्रमण निरन्तर भयावह बन्दै गएको देख्न सकिन्छ ।

त्यस्तै कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या पनि नेपालमा बिहीबारसम्मको तथ्यांकअनुसार सात दिने औसतमा प्रति १० लाखमा ४.५९ छ भने भारतमा यो संख्या २.९२ छ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या गत वैशाख २५ सम्मको सात दिने औसतअनुसार प्रतिलाख १.६ जना मात्र थियो ।

जतिबेला भारतमा यो औसत २.८ थियो । अहिले जनसंख्याको अनुपातमा औसतमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा नेपालले भारतलाई पछि पारिसकेको छ । यद्यपि भारतमा पनि यो औसत घटेको भने छैन । यसले अहिले नेपाल र भारत दुवैमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या निरन्तर उकालो लाग्दो क्रममा रहेको देखाउँछ ।

कोरोना संक्रमण फैलिने दर पनि भारतको भन्दा नेपालको धेरै छ । गत मंगलबारको तथ्यांकअनुसार नेपालमा एक जना संक्रमितले १.४६ जनामा आफ्नो संक्रमण सारिरहेको देखिएको छ भने भारतमा यो दर १.१० छ । कोरोनाका संक्रमितको संख्यामा कमी आउन कोरोना फैलिने दर एकभन्दा कम रहनु जरुरी छ । यसको अर्थ अहिले नेपाल र भारत दुवैमा कोरोना संक्रमण निरन्तर फैलिरहेको छ तर नेपालमा फैलिने दर भारतको भन्दा निकै बढी छ ।

कोरोना संक्रमण पुष्टि हुने दरमा पनि नेपाल भारतभन्दा धेरै अघि छ । बिहीबारसम्मको तथ्यांकअनुसार साप्ताहिक औसतमा नेपालमा कोरोनाको परीक्षण गरिएकामध्ये ४६.७० प्रतिशतमा कोरोनाको संक्रमण पुष्टि भएको छ । अर्थात् नेपालमा परीक्षण गरिएकामध्ये झण्डै आधामा संक्रमण पुष्टि हुने गरेको छ ।

भारतमा कोरोना परीक्षण गरिएका २०.२ प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको छ । यो दर पाँच प्रतिशतभन्दा कम रहेको अवस्थामा मात्र त्यसलाई मात्र कोरोना संक्रमण नियन्त्रणमा रहेको भन्ने बुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment