Comments Add Comment

सप्तरीमा १० दिन अस्पताल बसेपछि दोस्रो पीसीआर परीक्षण नगरिने

१ जेठ, सप्तरी । सप्तरीमा अब १० दिनसम्म अस्पतालमा बसेर उपचार गरेका संक्रमितको तीन दिनसम्म कुनै लक्षण नदेखिए दोस्रो पटक पीसीआर परीक्षण नगरिने भएको छ ।

उनीहरुलाई चिकित्सकको सल्लाह बमोजिम दोस्रो पीसीआर नगरी एक हप्ता होम आइसोलेसनमा बस्ने गरी पठाउने र त्यसको व्यवस्था स्थानीय तहले मिलाउने निर्णय भएको छ ।

सबै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका अध्यक्ष, सुरक्षा अधिकारी, जिल्ला संकट व्यवस्थापन समितिका पदाधिकारीको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संघीय सरकारको निर्णय अनुसार १० दिनपछि संक्रमण नसर्ने सम्भावना रहेकाले अस्पतालमा भर्ना भएकालाई १० दिनसम्म उपचार गरेपछि तीन दिनसम्म लक्षण नदेखिएमा होम आइसोलेसनमा पठाउने निर्णय भएको हो ।

यस्तै, आइसोलेसन र क्वारेन्टिनमा १४ दिनसम्म बसिसकेकालाई दोस्रो पीसीआर नगराइ होम आइसोलेसनमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले वैशाख ३ गते कोरोना राहत तथा विपद् व्यवस्थापन कोष गठन गर्ने र त्यसमा प्रत्येक स्थानीय तहबाट रकम जम्मा गर्न पत्राचार गरिएकोमा हालसम्म केही स्थानीय तहबाट मात्र प्राप्त हुन आएकाले बाँकी स्थानीय तहबाट कोषमा यथाशीघ्र रकम जम्मा गर्न भनिएको छ ।

उक्त कोषमा जम्मा भएको रकमले अक्सिजन प्लान्ट सञ्चालनका लागि छिन्नमस्ता अस्पताल प्रालिलाई ३० लाख सोधभर्ना हुने गरी हाललाई उपलब्ध गराउने निर्णय भएको जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादवले जानकारी दिए ।

यस्तै, जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला समन्वय समितिको बैठकबाट भएको निर्णय अनुसार स्थानीय तहले क्वारेन्टिन र आइसोलेसन केन्द्र तयार नगरेको भए अबिलम्ब तयार गर्ने, नेपाल सरकारबाट घोषित ५, १० र १५ बेडको अस्पताल कुन अवस्थामा छ त्यसको तयारीको विषयमा जिल्ला संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउने निर्णय पनि भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment