Comments Add Comment

सञ्चारमाध्यमको कार्यालय ध्वस्त पारेको भन्दै इजरायलको आलोचना

२ जेठ, काठमाडौं । अमेरिकी समाचार एजेन्सी ‘द एसोसिएटेड प्रेस (एपी)’ र कतारको समाचार च्यालन ‘अल जाजिरा’ले आफ्नो कार्यालयमा इजरायलले गरेको आक्रमणको शनिबार भर्त्सना गरेका छन् ।

एपीले इजरायलले गरेको आक्रमणलाई ‘भयानक र स्तब्ध पार्ने’ किसिमको रहेको बताएको छ । त्यस्तै अलजाजिराले पत्रकारहरुलाई गाजा क्षेत्रमा इजरायलले आफ्नो काम गर्न रोकिरहेको आरोप लगाएको छ । शनिबार इजरायलले गाजा क्षेत्रको धेरै तला रहेको भवन ध्वस्त पारेको थियो । उक्त भवनमा यी दुई सञ्चारमाध्यमको कार्यालय पनि थियो ।

एपीले शनिबार इजरायली सेनालाई फोन गरेर यो आक्रमण रोक्नका लागि आग्रह गरे पनि नमानेको उल्लेख गरेको छ । एपीले यो भवनमा हमासका लडाकु भएको प्रमाण दिन आग्रह गर्दा उनीहरुले दिन नसकेको उल्लेख गरेको छ । उक्त भवनमा एपीको कार्यालय १५ वर्षदेखि रहँदै आएको थियो भने अहिलेसम्म हमास उक्त भवनमा रहने गरेको कुनै पनि संकेत नभेटिएको एपीले बताएको छ ।

शनिबार इजरायलले आक्रमण गर्नुभन्दा एक घण्टाअघि मात्र भवन खाली गर्न चेतावनी दिएको र त्यतिबेला आफ्ना १२ पत्रकार उक्त भवनमा काम गरिरहेको एपीले बताएको छ । सोभाग्यले आफ्ना पत्रकारहरु उक्त भवनबाट आक्रमण हुनुभन्दा पहिला नै भाग्न सफल भएको एपीले बताएको छ ।

प्रेस स्वतन्त्रताको वकालत गर्ने अन्तर्राष्ट्रिय संस्थाले पनि इजरायलको यो आक्रमणको निन्दा गरेको छ । इजरायलले आफ्नो युद्ध अपराधको घटना बाहिर नआओस् भन्नका लागि मिडियामाथि सेन्सर लगाइरहेको आरोप लगाएका छन् ।

अल जाजिरा मिडिया नेटवर्कका कार्यवाहक महानिर्देशक डाक्टर मुस्ताफ सुआगले अन्तर्राष्ट्रिय समुदायसँग यो बर्बरतापूर्ण आक्रमणको निन्दा गर्न आग्रह गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment