Comments Add Comment

सवारी साधन रोकेर लुटपाट गरेको आरोपमा हतियारसहित दुईजना पक्राउ

३ जेठ, जनकपुरधाम । निषेधाज्ञाको समयमा गुड्ने सवारीसाधनलाई रोकेर लुटपाट गर्ने दुईजनालाई सर्लाहीबाट प्रहरीले हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय सुरेन्द्र सदा छन् ।

वैशाख २६ गते राति ईश्वरपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा ट्रकका चालक र एउटा पिकअप गाडीको सहचालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बीआर ३० यू ७७७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एक थान नलकटुवा पेस्तोल, त्यसमा प्रयोग हुने दुई राउण्ड गोली, एक थान सुनको हनुमानी र टल्किने ज्याकेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

चालक र सहचालकसँग नगद ३७ हजार रुपैयाँ विभिन्न कम्पनीको पाँच थान मोबाइल, सुनको हनुमानी लगायतका सामान लुटेको घटनामा उनीहरु संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ ।

पक्राउ दुवैजनालाई डाँका तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment