Comments Add Comment

नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी लैजान १० उडान अनुमति

३ जेठ, काठमाडौं । नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेविया लैजान नेपाल सरकारले १० वटा उडानको अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतीय दूतावासको समन्वय र साउदी सरकारको समेत अनुमतिपछि ति उडान स्वीकृत गरिएको हो । काठमाडौंबाट नेपाल एयरलाइन्सलाई ७ र हिमालय एयरलाइन्सलाई ३ उडान गर्न सक्ने गरि अनुमति दिएको हो ।

१८ मेबाट नेपाली दुई अन्तराष्ट्रिय वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरले भारतीय नागरिकलाई साउदी लैजान शुरु गर्नेछन् । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई चार्टर्ड उडानको अनुमति दिइएको छ ।

भारतीय नागरिकले सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरि टिकट काट्न सक्ने भएका छन् । काठमाडौंमा निषेधाज्ञा अगाडी आएर यतै अड्किएका भारतीयका लागि यो सुविधा दिइएको हो । अहिले भने नेपालमा ट्रान्जिट बनाई विदेश जान बन्द गरिएको छ । नेपालमा अन्तराष्ट्रिय उडान १७ जेठसम्म बन्द भएसँगै विदेशी नागरिकलाई घर फर्काउने प्रयोजनका लागि दूतावासहरुले पहल शुरु गरेका छन् ।

हिमालय एयरलाइन्सका अनुसार हिमालयले दमामका लागि तीन वटै उडान मंगलबार गर्ने तालीका रहेको छ । यो रुटमा प्रतिव्यक्ति ८२० डलर भाडा तोकेर हिमालयले टिकट काट्न भनेको छ ।

नेपालमा रहेका विदेशी नागरिकलाई घर फर्काउन सम्बन्धित मुलुकका दूतावासको समन्वयमा उडानको व्यवस्थापन गर्न लागिएको पोखरेलले जानकारी दिए । सोही सिलसिलामा आज अमेरिकी नागरिक लैजान टर्किस एयरलाइन्स काठाडौं आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment