Comments Add Comment

कोरोनाको पहिलो लहरमा बुवा बिते, दोस्रो लहरमा छोरा

३ जेठ, सप्तरी । कोरोना भाइरस संक्रमणको पहिलो लहरमा आफ्ना बुवा गुमाएका छोराको दोस्रो लहरमा मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–८ का ३२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट सोमबार मृत्यु भएको छ । उनको विराटनगरस्थित नोबेल मेडिकलमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक डम्बर गुप्ताले जानकारी दिए ।

कञ्चनरुप नगरपालिका घर भएका उनी विराटनगरमै बसेर कुमारी बैंकमा काम गर्दै आएका थिए । यसअघि गत कात्तिक ४ मा उनका बुवाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

नेपाली कांग्रेसका स्थानीय नेता समेत रहेका उनको बुवालाई त्यस बेला अस्पताल भर्ना गराउनेदेखि लिएर रकमको जोहो गर्नेसम्मको काम उनका छोराले नै गरेका थिए । त्यस बेला उपचार खर्च वापतको २ लाख ५० हजार तिर्न र थप ३ लाख रुपैयाँ धरौटी राख्नभन्दा नसकेकै कारण आफ्नो बुवाको मृत्यु भएको उनले सञ्चारमाध्यमलाई जानकारी गराएका थिए ।

रकम तिर्न नसक्दा बुवाको मृत्यु भएपछि अस्पतालले शव दिन पनि आनाकानी गर्दा उनले आफ्नो र दाजुको बैंक खातामा रहेको रकम जोडजाड गरेर अस्पताललाई २ लाखको चेक र फार्मेसीलाई पनि चेक दिएपछि शव ल्याउन दिइएको थियो ।

एक वर्ष नबित्दै बुवा छोराको मृत्यु भएपछि गुप्ता परिवार समस्यामा परेको छ । मृतकका एक जना दाजु भएपनि बेरोजगार भएका कारण घरका सदस्यलाई छाक टार्न पनि समस्या हुने स्थानीयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment