Comments Add Comment

खोप शाखा प्रमुखलाई प्रश्न : गाउँमा पुगेकाहरुले भेरोसेलको दोस्रो डोज कसरी लगाउने ?

संक्रमितले कोरोना खोप लगाउने कि नलगाउने ?

फाइल तस्वीर

४ जेठ, काठमाडौं । कोरोना महामारी तीव्र गतिमा बढेपछि सरकारले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने घोषणा गर्‍यो । निषेधाज्ञा घोषणा गर्दै सरकारले उपत्यका छाड्न चाहनेलाई दुई दिन समय पनि दियो । त्यही अवधिमा धेरै नागरिकले काठमाडौं उपत्यका छाड्दै आ–आफ्नो गाउँ फर्किए ।

निषेधाज्ञाकै बीचमा काठमाडौं उपत्यकामा भेरोसेल खोपको दोस्रो डोज अभियान सुरु भएको छ । पहिलो डोज खोप लगाएका र अहिले गाउँमा भएकाहरुलाई भने दोस्रो डोज कसरी लगाउने भन्ने चिन्ता छ ।

सरकारले पहिलो डोज लगाएका तर बाध्यात्मक अवस्थामा उपत्यका छाडेका नागरिकलाई दोस्रो डोजको खोप लगाउने व्यवस्था मिलाउने बताएको छ । स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जनजीवन सामान्य बनेसँगै नागरिकहरु उपत्यका फर्किन थालेपछि दोस्रो डोज खोप लगाउन छुटेका नागरिकलाई खोप लगाउने व्यवस्था मिलाउने बताए ।

डा. गौतमका अनुसार करिब २ लाख ९० हजार नागरिकले भेरोसेलको पहिलो डोज लगाएका छन् । ‘जेठ २ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाउन सुरु भइसकेको छ,’ उनले भने, ‘अहिले जारी रहेको खोप अभियान सकिएपछि मात्रै दोस्रो डोज लगाउन कति नागरिक छुटे भन्ने यकिन हुन्छ । खोप लगाउन छुटेका संख्याको आधारमा सरकारले त्यसको व्यवस्थापन मिलाउँछ ।’

पहिलो डोज लगाएको ८ देखि १२ हप्तामा दोस्रो डोज खोप लगाउनुपर्छ । ‘तर बाध्यात्मक अवस्थामा केही ढिला गरी लगाउँदा पनि प्रभावकारितामा खासै फरक नपर्ला,’ डा. गौतमले भने ।

संक्रमितले खोप लगाउनु हुन्छ कि हुन्न ?

अहिले पहिलो डोज लगाएका तर यो बीचमा संक्रमित भएका व्यक्तिले खोप लगाउन हुन्छ कि हुँदैन भन्ने जिज्ञासा पनि छ । डा. गौतम भन्छन्, ‘संक्रमण भइरहेको अवस्थामा र संक्रमणका लक्षणहरु देखिएका व्यक्तिले खोप लगाउनु हुँदैन । संक्रमणमुक्त भएको एक महिनापछि मात्रै खोप लगाउँदा प्रभावकारी हुन्छ ।’

कोरोना संक्रमणका कारण दोस्रो डोजको खोप लगाउनबाट छुट्छ कि भन्ने चिन्ता नलिन उनले आग्रह गरे । संक्रमण निको भएपछि त्यस्ता व्यक्तिहरुलाई दोस्रो डोजको खोप लगाउने व्यवस्था महाशाखाले मिलाउने उनको भनाइ छ ।

ज्येष्ठ नागरिकलाई दिइने दोस्रो डोज अनिश्चित

फागुन २३ गते यता कोभिशिल्डको पहिलो डोज लगाएका करिब १२ लाख ज्येष्ठ नागरिक दोस्रो डोज लगाउने पर्खाइमा छन् ।

महाशाखाका प्रमुख डा. गौतमले हाल त्यो संख्यालाई पुग्ने गरी कोभिशिल्डको मौज्दात नभएका कारण खोप लगाउन ढिलाइ भएको बताए । ‘करिब १२ लाख नागरिकलाई पुग्ने खोपको मौज्दात हामीसँग छैन,’ उनले भने, ‘खोप प्राप्त हुनासाथ दोस्रो डोजको लागि सूचना निकालेर खोप लगाउने समय तोक्छौं ।’

फागुन २३ पछि कोभिशिल्ड खोप लगाएका नागरिकहरुलाई लक्षित गरी खोपको प्रबन्ध गर्ने काम सरकारले गरिरहेको उनले बताए ।

खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य

खोप शाखाका प्रमुख डा. गौतमले कोभिड–१९ विरुद्ध खोप लगाएका व्यक्तिहरुले पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताउँछन् ।

कोभिड–१९ विरुद्ध खोप लगाएका व्यक्तिलाई कोरोना संक्रमण हुँदैन भन्ने भ्रम नपाल्न उनको अनुरोध छ । पछिल्लो सयम खोप लगाएका व्यक्तिहरुमा संक्रमण हुँदैन भन्ने एक खालको भ्रम देखिएको भन्दै उनले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने जस्ता स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न उनको आग्रह थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment