Comments Add Comment
स्थलगत रिपोर्ट :

जगरनाथपुरमा गाउँभरि संक्रमित, न परीक्षण न आइसोलेसन

चिलझप्टीको बासिन्दा भनेपछि अपहेलना, तरकारी बेच्न पनि मुस्किल

५ जेठ, वीरगञ्ज । वैशाख २७ गते पर्साको जगरनाथपुर गाउँपालिका-५ चिलझप्टीलगायत गाउँभरि ज्वरोका बिरामी भेटिएको तथ्य सार्वजनिक भयो । गाउँपालिकाको स्वास्थ्य शाखाले नै स्वास्थ्य कार्यालय पर्सालाई यसबारेमा जानकारी गरायो ।

यो पनि पढ्नुहोस गाउँभरि ज्वरोका बिरामी छन्, १० दिनमा १० जनाको मृत्यु

१० दिनमा १० जनाको मृत्यु हुनेमा अधिकांश चिलझप्टी गाउँकै थिए । भोलिपल्ट जिल्ला र पालिकाको टोली पुगेर ज्वरोको बिरामी खोज्नुका साथै एन्टिजेन परीक्षण गर्‍यो । ११ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनाको पोजेटिभ आयो ।

२५ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइयो । १ सय ६७ जना ज्वरोका बिरामी भेटिएका थिए । गाउँमा अन्य रोग नभई कोरोना संक्रमण नै फैलिएको पुष्टि भयो ।

यो पनि पढ्नुहोस पर्साको जगरनाथपुरमा कोरोना संक्रमण नै फैलिएको पुष्टि

पीसीआर परीक्षण रिपोर्ट ३० गते मात्रै आयो । त्यसमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भयो । जसमध्ये एक जनाको रिपोर्ट आएकै दिन होम आइसोलेसनमा मृत्यु भइसकेको थियो ।

यो पनि पढ्नुहोस पर्साको जगरनाथपुरमा थप १७ जनामा कोरोना संक्रमण

चिलझप्टीमा मात्रै हैन, जगरनाथपुरका अन्य गाउँमा पनि ज्वरोका बिरामी छन् । जगरनाथपुर-५ का राम विश्वास यादव रुघा ज्वरो लागेको बिरामी गाउँभरि नै भएको बताउँछन् ।

तर पालिकासँग परीक्षणका लागि आवश्यक स्रोत साधन र जनशक्ति छैन । गाउँमा समस्या भएको कुरा बाहिरिएपछि पालिकाले हतार हतार वीरगञ्जको एक होटलमा आइसोलेसन तयार पारेको छ । तर एकजना पनि संक्रमितलाई राखिएको छैन ।

स्थानीय सुरेश महतो धानुक शहरको होटेलमा आइसोलेसन बनाएको सुने पनि संक्रमितहरू गाउँमा घुमिरहेको बताउँछन् ।

‘जसको घरमा कोरोनाले परिवारका सदस्यको मृत्यु भएको भनिएको छ । परिवारका अन्य सदस्यको पीसीआर गर्नुपर्छ नी,’ उनले भने, ‘संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा राख्नुपर्छ । कन्ट्याक्ट ट्रेसिङमा परेकाहरू क्वारेन्टिनमा बस्नुपर्छ । सुनेको छु, गाउँपालिकाले वीरगञ्जमा होटलमा आइसोलेसन बनाएको छ तर संक्रमित र परिवारका सदस्य गाउँमा घुमिरहेका छन् ।’

गाउँपालिकाले एक दिन आएर औषधि वितरण गरेको तर कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नगरेको उनको भनाइ छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका वा संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका कसैको पनि कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन । किनकि पालिकाले केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ (सीआईसीटी) टोली नै गठन भएको छैन ।

पालिकामा महामारी न अध्यक्ष न हाकिम गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहका अनुसार गाउँपालिका अध्यक्ष बाहिर रहेको र प्रमुख प्रशासकीय अधिकृत नभएकोले महामारीविरुद्ध लड्न कुनै किसिमको तयारी गाउँमा भएको छैन ।

नारायणी अस्पतालबाट ५० थान भिटिएम किट लिएर गाउँपालिका फर्कँदै गरेका उनी आफू एक्लै जताततै कुद्नुपरिरहेको गुनासो गर्छन् ।

‘न अध्यक्ष छन्, न हाकिम नै छन्, अरु कुनै टिम गठन भएको छैन, गाउँमा संक्रमण पुष्टि भएको जानकारी गराउने, होम आइसोलेसनमा बसेकालाई औषधि वितरण होस् वा अन्य काम जे गर्नुपर्छ एक्लै गरिरहेको छु,’ उनले भने, ‘एक जना ल्याबको साथीले स्वाब नमुना संकलनका लागि सघाउँछन् ।’

गाउँपालिकाले एन्टिजेन किट, भिटिएमलगायतका परीक्षणका लागि आवश्यक साधनको व्यवस्था नगरेकोले समस्या भएको उनले बताए । ‘स्वास्थ्य कार्यालयको समन्वयपछि नारायणी अस्पतालबाट ५० थान भीटीएम पाएका छौं, संक्रमितसँग सम्पर्कमा आएका र लक्षण देखिएकाको स्वाब नमुना संकलन गरेर पीसीआर परीक्षण गराउँछौं,’ उनले भने, ‘संक्रमण पुष्टि भएकाहरूको स्वास्थ्य अवस्थामा सुधार आइसकेको छ, विस्तारै गाउँको अवस्था सामान्यतर्फ उन्मुख छ ।’

सिल फुकुवा गरिदिन माग

‘गाउँमा कोरोना फैलिएको कुरा पुष्टि भएपछि पालिकाले हतार हतार वीरगञ्जको एक होटलमा आइसोलेसन तयार पारेको छ । तर एकजना पनि संक्रमितलाई राखिएको छैन । कोरोनाले मृत्यु भएका परिवारका सदस्य पनि गाउँमा घुमिरहेका छन् ।’

बनारसी राउत अहिरलाई चार दिनदेखि टाइफाइडको औषधि चलिरहेको छ । हातमा क्यानुला लगाएका उनी घर बाहिरै कुर्सीमा बसिरहेको भेटिए । उनी गाउँमा अब ज्वरोका बिरामी नरहेको तर गाउँका मानिसहरूले बाहिर जाँदा सास्ती भोग्नु परिरहेको गुनासो गर्दै थिए ।

‘ज्वरोका बिरामी सबैले औषधि खाइरहेका छन्, स्वास्थ्यकर्मी आएर नियमित जाँच्छन् । सबैलाई ठिक छ,’ तर गाउँका मानिसहरू बजार गर्न जान पाईरहेका छैनन, अन्य गाउँका मानिसले चिलझप्टीका मानिस भनेपछि हेला गरिरहेका छन् ।’

स्थानीय रामजीत मुखियाले चिलझप्टीकै भएको कारण पोखरियाको एउटा दाँत क्लिनिकमा दाँत जचाउन नमानेको गुनासो गरे । एउटा गाउँमा चिलझप्टीबाट जन्ति आएको भनेपछि मानिसहरू सबै लुकेको गाउँलेहरू बताउँछन् ।
परीक्षणमा ढिलाइ हुँदा दैनिक ज्याला मजदुरी र खेती किसानी गर्ने सर्वसाधरण पनि मर्कामा छन् ।

‘चिलझप्टीका मानिस तरकारी खेति गर्छन्, कल गाड्ने गर्छन् । तर गाउँभरि कोरोनाका बिरामी रहेको हल्ला फैलिएपछि सबैको व्यापार र रोजगारी गुमेको छ’, स्थानीय राजेश प्रसाद यादव भन्छन्, ‘करेला, परवर, भिण्डी, घिरौंलालगायत खेती गर्छन् । तर लगाएको तरकारी बाली बारीमै सडिरहेको छ ।’

अन्य गाउँमा लाग्ने हाटमा लगेर तरकारी बेच्ने गरेका उनलाई अर्को गाउँमा जाँदा किन आएको भनेर गाली गर्ने गरेको उनले बताए ।

‘मेरो स्वास्थ्यमा समस्या छैन, तर तरकारी बेच्न अन्य गाउँमा जान दिइँदैन,’ उनले भने, ‘तरकारी बारीमै सडिरहेको छ, त्यसको क्षतिपूर्ति कसले दिन्छ ? कि बेच्न जानदिनुपर्छ, कि कसैले किनिदिनुपर्छ ।’

३ कठ्ठा जमिनमा तरकारी खेती गर्दै आएका रुपण साह गोडलाई त सन्ठी र औराहाको हाटमा चिलझण्टीको भनेर अपहेलना नै गरे ।

‘करेला, भिण्डी, घिरौंला, धनियालगायत अन्य सागपात फलेको छ,’ उनले भने, ‘मेरो स्वास्थ्यमा कुनै समस्या पनि छैन, सण्ठी र औराहाको बजारमा बेच्न जाँदा किन आएको भनेर कराए, जसले चिनेको छैन, उसलाई पनि चिलझप्टीको भनेर चिनाए । बिक्री नभएपछि गाउँमै पसल राखेको छु ।’

स्थानीय रम्भु साह, कल (नल्का) गाड्ने काम गर्छन । निषेधाज्ञामा पनि उनको काम रोकिएको छैन । तर चिलझप्टीको भएकै कारण काममा जान पाएका छैनन् । कल गाड्नका लागि लक्ष्मण मिस्त्री हरपुर गाउँमा पुगेका थिए । चिलझप्टीबाट मिस्त्री किन बोलाएको भनेर साहुलाई नै गाली गरेपछि उनी जानै छोडेका छन् ।

लक्षण भएका र संक्रमितको सम्पर्कमा आएकाको कोरोना परीक्षण गरेर चिलझप्टीमा सिल फुकुवा भएको घोषणा गरिदिन स्थानीयको माग छ ।

रुपण साह गोडलाई त सन्ठी र औराहाको हाटमा चिलझप्टीको भनेर अपहेलना नै गरे । उनले भने, ‘मेरो स्वास्थ्यमा कुनै समस्या छैन, सण्ठी र औराहाको बजारमा तरकारी बेच्न जाँदा किन आएको भनेर कराए, जसले चिनेको छैन, उसलाई पनि चिलझप्टीको भनेर चिनाए ।’

वडा सदस्य श्रीलाल प्रसाद यादव अब चिलझप्टीमा पहिलाको जस्तो समस्या नरहेको बताउँछन् । ‘वैशाख १४ गतेतिर १ सय जना क्यानुला लगाएर टाइफाइडको औषधि लिइरहेका मानिस थिए, अहिले स्थिति सामान्य छ । संक्रमण पुष्टि भएका एक जना पनि अस्पतालमा छैनन्,’ उनले भने, ‘गाउँमा २० बिघा भन्दा बढी खेती हुन्छ, दैनिक २/४ लाखको तरकारी बिक्री हुन्थ्यो । यहाँका मानिसहरू अर्को गाउँमा जाँदा हेला गरिरहेका छन्, यसको अन्त्य हुनुपर्छ ।’

चिलझप्टीलगायत पालिकाका अन्य गाउँमा देखिएका समस्या समाधानका लागि महामारीमा गाउँपालिका एकदमै सक्रिय देखिनुपर्ने हो । तर जगरनाथपुरमा त्यस्तो देखिँदैन । गाउँपालिका अध्यक्ष श्रीमतीको उपचारका क्रममा काठमाडौमा छन् ।

प्रमुख प्रशासकीय अधिकृत अमित गिरीको सरुवा भइसकेको छ । जिम्मेवारी पाएका अर्का प्रमुख प्रशासकीय अधिकृत आएकै छैनन् । गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत दुवै जना नहुँदा निमित्तको भरमा गाउँपालिका चलेको छ ।

गाउँपालिकाले संक्रमित भेटिएको गाउँमा औषधि खरिद गरेर वितरण गरेको छ । तर एन्टिजेन परीक्षणका लागि किट खरिद गर्न सकेको छैन । गाउँपालिका उपाध्यक्ष विशमिला खातुन एन्टिजेन किट बजारमा नपाएकोले खरिद गर्न नसकिएको बताउँछिन् ।

‘बाहिर आएको जस्तो गाउँमा आत्तिनु पर्ने समस्या पनि छैन । ज्वरो, खोकी आएकालाई पालिकाले औषधि वितरण गरिसकेको छ,’ उनले भनिन्, ‘एन्टिजेन लगायतका आवश्यक किट खरिदका लागि प्रक्रिया थालिसकेका छौं, बजारमा सहजै पाइरहेको छैन, पाउने वित्तिकै परीक्षण दायरा बढाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment