Comments Add Comment

राष्ट्रियसभा उपनिर्वाचन : लुम्बिनीमा पाण्डेयलाई राष्ट्रिय जनमोर्चाको समर्थन

राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दृगनारायण पाण्डेयलाई समर्थन गर्ने बताएको छ । लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ ।

लुम्बिनीमा पाण्डेयलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा उम्मेदवारको रुपमा अघि सारेका छन् । पार्टी अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन भन्दै त्यसका विरुद्ध आउने सबै शक्तिसँग सहकार्य गर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहमा विजयी आफ्ना जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई पाण्डेयको पक्षमा मत दिन पनि केसीले आग्रह गरेका छन् ।

‘प्रतिगमनलाई परास्त गर्न प्रतिगमन विरोधी उमेदवारलाई जिताउन हामीले उहाँलाई प्रतिगमन विरोधी शक्तिहरुको साझा उमेदवारको रुपमा अगाडि सार्ने सहमति अनुरुप नै हाम्रो पार्टीले समर्थन गर्ने निर्णय लिएको छ’ केसीले भनेका छन् ।

उनले वाग्मती प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन रहेको उम्मेदवार डा. खिमलाल देवकोटालाई नै आफूहरुको समर्थन रहेको बताएका छन् । यद्यपि वाग्मती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि मतदाता छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment