Comments Add Comment

२-२ वर्षमा फिफा विश्वकप आयोजना गर्ने प्रस्ताव

९ जेठ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले विश्वकप फुटबल हरेक २-२ वर्षमा आयोजना गर्नेबारे छलफल अगाडि बढाएको छ । हाल फिफा विश्वकप हरेक ४-४ वर्षमा आयोजना हुँदै आएको छ ।

भर्चुअल माध्यमबाट भएको फिफाको ७१औं कंग्रेसले महिला र पुरुष दुवैको विश्वकप २-२ वर्षमा आयोजना गर्ने प्रस्तावलाई बहुमतले अघि बढाउने निर्णय गरेको हो । तर यस बारे समयसीमा भने तोकिएको छैन ।

फिफा विश्वकप २०२२ मा कतारमा हुँदैछ भने २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

फिफा कंग्रेसमा साउदी अरेबियन फुटबल फेडेरेसनले २-२ वर्षमा विश्वकप गर्नुपर्ने प्रस्ताव राखेको थियो र फिफाले यसबारे अध्ययन गर्ने भएको हो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साउदीको प्रस्तावलाई स्पष्ट र विस्तृत प्रस्ताव भनेका छन् । कंग्रेसमा यस प्रस्तावलाई अध्ययनका लागि अघि बढाउनेमा १६६ भोट प्राप्त हुँदा २२ भोट मात्र विपक्षमा थियो ।

सन् १९३० देखि सुरु भएको पुरुष विश्वकप र १९९१ मा सुरु भएको महिला विश्वकप अहिले ४ वर्षको अन्तरमा हुँदै आएको छ । दोस्रो विश्व युद्धका कारण १९४२ र १९४६ को विश्वकप रद्द भएको थियो ।

२-२ वर्षमा विश्वकप भयो भने युरोकप लगायत अन्य प्रतियोगिताहरुसँग जुध्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment