Comments Add Comment

१६ वर्षीय सोनामले बाबुसँगै गरे सगरमाथाको आरोहण

९ जेठ, काठमाडौँ । ताप्लेजुङका १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार बिहान ८:५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए ।

दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि गएका थिए । ‘फादर एण्ड सन क्लाइमेट चेन्ज क्याम्पेन एक्सपेडिशन २०२१’ नाम दिएर सोनाम आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए ।

पिके गत वैशाख २४ गते अनुमति पत्र लिएर सगरमाथा आरोहणका लागि गएका थिए । मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको र मौसम खुलेसँगै अघि बढेका बाबुछोराले आज आरोहण गर्न सफल भएको पौडेलले बताए ।

यता, पर्यटन विभागले समेत उनहरुले आरोहण गरेको सूचना आएको जनाएको छ । ‘पिके शेर्पा र उहाँका छोरा दुवैले आरोहण गरेको भन्ने बेस क्याम्प र त्यस माथिबाट हामीलाई सूचना आएको छ’, पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले भनिन् । उनका अनुसार एक्सपेडिशन रिपोर्ट आएपछि विभागले छानविन गर्ने र आरोहण पुष्टि भए आधिकारिकता प्रदान गरिने छ ।

यस्तै सोनाम सबैभन्दा कान्छो आरोही हुन सक्ने आचार्यको भनाइ छ । अहिले नै यसै हो भनेर भन्न नसकिने उनले स्पष्ट पारिन् । ‘१६ वर्ष मुनिकाले आरोहण गर्न पाउँदैनन्, उहाँ १६ वर्ष पूरा भएर आउनुभएको थियो, पूर्णरुपमा डकुमेन्ट हेरेर छानबिनपछि मात्र भन्न सकिन्छ’, आचार्यले भनिन् ।

विसं २०६१ फागनु १५ गते जन्मिएका शेर्पाले गत चैत २६ गते मात्रै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

निर्देशक आचार्यका अनुसार हालसम्‍म १३० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment