Comments Add Comment

ललितपुरमा सञ्चालित सेनिटाइजर उद्योगमा प्रहरीको छापा

९ जेठ, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित शीतलहाइटमा सञ्चालित एक सेनिटाइजर उद्योगमा प्रहरीले आइतबार छापा मारेको छ ।

मानव स्वास्थ्यमा हानि पुर्‍याउने रसायन प्रयोग गरी सेनिटाइजर उत्पादन गरेको पाइएपछि पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा छापा मारेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार उद्योगले उत्पादन गरेको सेनिटाइजरमा मिथानोल अल्कोहल नामक रसायन अत्यधिक प्रयोग गरिएको पाइएको उनले बताए ।

प्लस ७५ प्रतिशत नामको सेनिटाइजर उत्पादन गरी बजारमा बिक्री वितरण भइरहेको जानकारी आएपछि उद्योगमा छापा मारिएको उनको भनाइ छ । उनका अनुसार उद्योगले उत्पादन गरेको उक्त सेनिटाइजरमा मानव स्वास्थ्यका लागि हानिकारक विषादी मिथानोल अल्कोहल रहेको आशंकामा औषधी व्यवस्था विभागको ल्याबमा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा प्रयोग गर्न नमिल्ने रिपोर्ट आएपछि छापा मारिएको उनको भनाइ छ । सहायक प्रजिअ बस्नेतका अनुसार उक्त कम्पनी कहीँ कतै दर्ता नभएको पाइएको छ ।

‘उद्योगले उत्पादन गरेको तयारी अवस्थाको करिब ३० देखि ३५ हजार लिटर सेनिटाइजर बरामद भएको छ,’ सहायक प्रजिअ बस्नेतले भने, ‘बरामद भएको सेनिटाइजरको अहिले गणना र मुचुल्का उठाउने काम भइरहेको छ । त्यसपछि उद्योगलाई सिल गरिने छ ।’

जिल्ला प्रशासन कार्यलय ललितपुर, महानगरीय अपराध महाशाखा र औषधि व्यवस्था विभागको टोलीले कम्पनीका सञ्चालक आशिष प्याकुरेल नियन्त्रणमा लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment