Comments Add Comment

आफैं खोप किन्न रामपुर नगरपालिकाले माग्यो स्वास्थ्य मन्त्रालयसँग अनुमति

५० हजार डोज खोप किन्न स्वास्थ्यमन्त्री त्रिपाठीलाई मेयरको निवेदन

रामपुरका मेयर रमणबहादुर थापा र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी ।

९ जेठ, पोखरा । पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले आफैं कोरोना महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार निवेदन दिएका छन् ।

सरकारले खोप उपलब्ध गराउन समय लागेपछि भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग भेटेर अनुमति मागेको थापाले बताए ।

‘रामपुर नगरपालिकाले आफ्ना सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप चाहेका छौं । यसका लागि यसअघि नेपाल सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार ५० हजार डोज खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छौं,’ मेयर थापाले भने, ‘स्वास्थ्यमन्त्रीज्यूलाई भेटेर निवेदन दिएका छौं । उहाँ सकारात्मक हुनुहुन्छ ।’

मेयर थापाले भारतमा रहेका रामपुर वडा नम्बर ७ का सन्दीप रानाले खोप ल्याउन समन्वय गर्न सक्ने भनेकाले खोप खरिद गर्न अनुमति मागिएको बताए ।

अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत रहेका सन्दीपसँगको समन्वयमै खोप खरिदको प्रक्रिया अगाडि बढाइएको र खर्चको प्रवन्ध पनि पालिकाले नै गर्ने मेयर थापाको भनाइ छ । उनले भने, ‘कि संघीय सरकारले समयमै उपलब्ध गराइदिनुपर्‍यो, होइन भने हामी नै खरिद गर्छौं अनुमति दिनुपर्‍यो ।’

रानाको समन्वयमा भारतका ३ वटा कम्पनीबाट खोप खरिद गर्न सकिने मेयर थापाको भनाइ छ । मेयर थापाले विकास बजेट कटाएर भए पनि खोप खरिद गर्ने बताए ।

‘विपद व्यवस्थापन कोषमा १ करोड रुपैयाँ छ । यो वर्ष विकास बजेट पनि खर्च हुन सकिरहेको छैन भने पालिकाहरुले नै खोप खरिद गर्न सक्छन्,’ मेयर थापाले भने, ‘विकास अर्को वर्ष गरौंला, पहिले नागरिकको स्वास्थ्य बचाऔं भन्ने हो ।’

रामपुर नगरपालिकामा अहिले ४२ जना सक्रिय संक्रमित छन् । तीमध्ये ५ जना गम्भीर बिरामीको प्रादेशिकस्तरको रामपुर अस्पतालमा उपचार भइरहेको छ ।

नगरपालिकामा रामपुरमा २० बेड, वडा नम्बर १, ९ र १० मा ५/५ बेडको आइसोलेसन तयार पारेको छ । चालु आर्थिक वर्षमा १५ करोडको हाराहारीमा विकास बजेट विनियोजन भएको मेयर थापाको भनाइ छ । स्थानीय तहले सक्ने जति पहल गर्न दिने र त्यसमा संघीय सरकारले वातावरण मिलाइने गर्ने हो भने पनि धेरै छिटो खोप आउने उनको भनाइ थियो ।

मेयर थापाले भने, ‘स्थानीय सरकारले आफैं खोप खरिद गर्ने अधिकार छैन, स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएर खरिद गर्ने प्रक्रिया अगाडि बढाउन मन्त्रीजीले भन्नुभएको छ ।’

फ्रन्ट लाइनमा खटिएकाहरु र लक्षित वर्गकाले पहिलो र दोस्रो चरणमा खोप लगाइसकेको र ५० हजार डोज खोप ल्याउँदा सबैलाई पुग्ने मेयर थापाको भनाइ छ । खोप खरिद गर्न देशविदेशबाट रामपुरवासीले पनि सहयोग गर्न चासो दिइरहेकाले आर्थिक समस्या नहुने मेयर थापाले बताए ।

‘प्रत्येक स्थानीय तहले कोरोना माहामारीमा बल लगाउने हो भने यसले भयावह रुप लिने थिएन, किन त्यसरी समन्वय हुन सकेन भनेर स्वास्थ्यमन्त्रीसँग प्रश्न पनि गरें,’ मेयर थापाले अनलाइनखबरलाई सुनाए ।

अहिलेसम्म पाल्पामा कोरोनाले उग्र रुप नलिए पनि बेलैमा खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउने हो भने धेरै नियन्त्रण गर्न सकिने आवाज नागरिकस्तरबाट पनि आउँदा दबाव महसुस भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

ट्रेन्डिङ

Advertisment