Comments Add Comment

लुम्बिनीमा मुख्यमन्त्री नियुक्ति विवाद : प्रदेश प्रमुखसँग चार दलले मागे कागजात

१० जेठ, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रकृया र सांसदहरुको हस्ताक्षरसम्मको कागजपत्र प्रदेश प्रमुखको कार्यालयसँग माग गरेका छन् ।

अल्पमतमा पर्दापर्दै पोखरेलले बहुमतको झुठो दावी पेश गरेर नियुक्त भएको दावी गर्दै विपक्षी दलले नियुक्ति प्रक्रिया र पोखरेलले पेश गरेका सांसदको हस्ताक्षर सहितको कागजपत्र माग गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्री, नेकपा माओवादी केन्द्रकी सचेतक पार्वती पुन, जसपा सचेतक पुर्मति ढेंगा र राजमो सांसद तारा जीसीले सोमबार एक निवेदन दिँदै कागजपत्र माग गरेका हुन् ।

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले डाकेको प्रदेश सभा विशेष अधिवेशन सम्बन्धी पत्र, मुख्यमन्त्री पोखरले दिएको राजीनामा, पुन: नियुक्ति र चार दलले माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रस्तावसहित बुझाएको कागजपत्र सूचनाको हक सम्बन्धी ऐन २०६४ दफा ३ अनुसार माग गरिएको कांग्रेस सचेतक क्षेत्रीले बताइन् ।

गत वैशाख १९ गते चार दलको माग अनुसार विशेष अधिवेशन आह्वान भएको भएपनि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको घोषणा गरेर केही घण्टामै वहुमत दावी गरेर पुनः नियुक्त भएका थिए ।

पोखरलले आफूसँग बहुमत रहेको दावी गरेपनि विपक्षी दलले ४१ जना सांसदको हस्ताक्षर सहित माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका थिए ।

पोखरेल मुख्यमन्त्री नियुक्त नहुँदै प्रदेश सभामा कायम ८३ सांसद मध्ये नेकपाबाट निर्वाचित विमला खत्रीले माओवादी केन्द्र रोजिसकेको सूचना प्रदेश सभामा दर्ता भइसकेको, एमाले सांसद दृगनारायण पाण्डेले राजीनामा दिइसकेको र सूर्य चिन्हबाटै चुनाव जितेका अजय शाही र धर्मबहादुर लाल श्रीवास्तवले माओवादी केन्द्रका कूलप्रसाद केसीको पक्षमा हस्ताक्षर गरेका थिए ।

त्यसरी पोखरेलको पक्षमा जसपाका ४ जनासहित ४१ जना र विपक्षमा सभामुखबाहेक ४२ जना कायम रहेकाले अल्पमतको नेतालाई मुख्यमन्त्री नियुक्त र सपथ गराउनु असंवैधानिक र अलोकतान्त्रिक भएको विपक्षीको भनाइ छ ।

विपक्षी चार दलले अल्पमतको नेतालाई सपथ नगराउन माग गर्दै प्रदेश प्रमुख कार्यालयमा राति ८ बजेसम्म धर्ना दिएका थिए । तर सरकारले विपक्षी माथि प्रहरी बल प्रयोग गरी प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर सपथ लिएका थिए । विपक्षीहरुले असंवैधानिक र स्वेच्छाचारी ढंगले अल्पमतको नेतालाई नियुक्त र सपथ गराएको भन्दै प्रदेश प्रमुखलाई बर्खास्त गर्न माग समेत गरेका छन् ।

हेर्नुहोस् चार दलको पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment