+
+
Shares

विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री : कांग्रेस र जनमत विपक्षमा, राप्रपा तटस्थ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १५:०१

१ भदौ, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिने भएका छन् । कांग्रेस र जनमत विपक्षमा उभिँदा राप्रपा भने तटस्थ रहने भएको छ ।

जनता समाजवादी पार्टी नेपालका सांसदहरु विश्वासको मतको पक्ष र विपक्षमा विभाजित छन् ।

आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेपछि सम्बन्धित दलका नेताहरुले सो जानकारी दिएका हुन् ।

बैठकमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता जोखबहादुर महरा, जनता समाजवादी पार्टी नेपालकी हेमा बेल्वासे र राष्ट्रिय जनमोर्चाका तारा थापाले मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्ने जानकारी गराएको मुख्यमन्त्री आचार्यको सचिवालयले जनाएको छ । ‘सरकारलाई समर्थन गर्ने दलका सांसदहरूले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने स्पष्ट धारणा राखेसँगै सरकारको पक्षमा बहुमत जुटेको छ,’ मुख्यमन्त्री आचार्यका प्रेस संयोजक दशरथ घिमिरेले भने ।

यसअघि जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी संसदीय दललाई लिखित निर्देशन दिएका थिए । साथै विश्वासको मतको विपक्षमा मतदान गर्न भनेका थिए । तर अनलाइनखबरसँग कुरा गर्दै जसपा नेपालका नेता सन्तोषकुमार पाण्डेयले भने समर्थन फिर्ता नलिने बताएका थिए ।

विश्वासको मत लिनुअघि सरकारको पक्षमा रहेका दलहरूका सांसदहरू एमाले प्रदेश कार्यालयमा भेला भएका थिए । त्यसपछि उनीहरू सामूहिक रूपमा प्रदेश सभा बैठकमा सहभागी भएका हुन् ।

यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले भने मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने जानकारी गराए ।

जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले पनि विश्वासको मतको विपक्षमा मतदान गर्ने स्पष्ट पारे ।

राप्रपाकी प्रमुख सचेतक मिनाकुमारी श्रेष्ठले मत विभाजनको प्रक्रियामा पार्टी तटस्थ बस्ने जानकारी बैठकमा गराइन् ।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन थालेका हुन् । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेश सभामा दलका नेताहरूले धारणा राखेपछि मत विभाजनमार्फत निर्णय हुने प्रक्रिया अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?