News Summary
Generated by OK AI. Editorially reviewed.- जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
- पार्टी प्रवक्ता मनिषकुमार सुमनले विज्ञप्ति जारी गर्दै अहिरको मन्त्री नियुक्ति असंवैधानिक र कानुनी राज्यको उपहास भएको बताए ।
- आफ्नो माग सुनुवाइ नभए प्रदेश प्रमुख, मुख्यमन्त्री र सत्ता गठबन्धनविरुद्ध सशक्त कानुनी प्रक्रियामा जाने चेतावनी पार्टीले दिएको छ ।
२६ जेठ, बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई बर्खास्त गर्न माग गरेको छ । पार्टीका प्रवक्ता मनिषकुमार सुमनले मंगलबार विज्ञप्ति जारी गर्दै उनलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेका हुन् ।
सर्वोच्च अदालतले जसपालाई अमान्य ठहर गर्दै जसपा नेपाललाई वैधानिकता दिइसकेको अवस्थामा अहिरको मन्त्री नियुक्ति असंवैधानिक भएको विज्ञप्तिमा उल्लेख छ ।
‘संवैधानिक र कानुनी वस्तुस्थितिको धज्जी उडाउँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालेको अनैतिक र स्वेच्छाचारी कदमप्रति हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिरको नियुक्ति कानुनी राज्यको उपहास मात्र नभई लोकतन्त्रमाथिको नाङ्गो प्रहार र बलमिच्याइँको पराकाष्ठा हो, अहिरलाई तत्काल मन्त्री पदबाट बर्खास्त गरियोस् ।’
पार्टीको यस न्यायसंगत र कानुनी मागलाई नजरअन्दाज गरिएमा सम्मानित अदालतको मानहानी गर्ने तथा बलमिच्याइँमा उत्रिने लुम्बिनी प्रदेश प्रमुख, मुख्यमन्त्री र एमाले, कांग्रेस सत्ता गठबन्धनविरुद्ध जसपा नेपाल सशक्त कानुनी प्रक्रियामा जान बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
एक हप्ताअघि आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त अहिरले सोमबार मात्रै शपथ लिएका थिए ।
प्रतिक्रिया 4