News Summary
Generated by OK AI. Editorially reviewed.- चीनले याङ्त्जे नदीमा विश्वकै सबैभन्दा ठूलो इनल्यान्ड सिप लकसहितको ‘थ्री गर्जेज नयाँ जलमार्ग परियोजना’ को निर्माण शुरू गरेको छ ।
- ७७.२ अर्ब युआन लागतको यस आयोजनाले जलमार्गको वार्षिक ओसारपसार क्षमता झण्डै दोब्बर बनाई ३३ करोड ६० लाख टन पुर्याउनेछ ।
- चीनको १५औँ पञ्चवर्षीय योजना अन्तर्गतको यो राष्ट्रिय गौरवको आयोजना पूर्ण रूपमा सम्पन्न हुन ९ वर्षभन्दा बढी समय लाग्नेछ ।
२६ जेठ, काठमाडौं । चीनले विश्वकै तेस्रो लामो नदी याङ्त्जेमा बढ्दो ढुवानी मागलाई सम्बोधन गर्न एक विशाल जलमार्ग परियोजनाको निर्माण कार्य सुरु गरेको छ। यस अन्तर्गत विश्वकै सबैभन्दा ठूलो इनल्यान्ड सिप लक समेत निर्माण गरिनेछ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी समिति सदस्य तथा उपप्रधानमन्त्री डिङ सुएस्याङले चीनको हुबेई प्रान्तको यिचाङमा आयोजित एक विशेष समारोहका बिच ‘थ्री गर्जेज नयाँ जलमार्ग परियोजना’ को निर्माण कार्य शुभारम्भ गरेका हुन्।
७७.२ अर्ब युआन (करिब ११.३ अर्ब अमेरिकी डलर) को लागतमा निर्माण हुन लागेको यस परियोजना अन्तर्गत विश्वकै सबैभन्दा ठुलो जल संरक्षण आयोजना ‘थ्री गर्जेज बाँध’ को उत्तरी क्षेत्रमा पाँच-तहको, दोहोरो ट्र्याक भएको नयाँ सिप लक थपिनेछ। साथै, यसको तल्लो तटमा रहेको सानो बाँधको सञ्चालन प्रणालीलाई समेत स्तरोन्नति गरिनेछ।
यो परियोजना सम्पन्न भएपछि थ्री गर्जेजको वार्षिक सामान ओसारपसार क्षमता झण्डै दोब्बर भई ३३ करोड ६० लाख टनसम्म पुग्नेछ। चिनियाँ एकेडेमी अफ इन्जिनियरिङका प्राज्ञिक निउ सिनकियाङका अनुसार यस परियोजनाले जहाजको आकार, च्याम्बरको चौडाइ र माटो उत्खनन कार्यका हिसाबले विश्व कीर्तिमान कायम गर्नेछ।
यो डिजाइनमा वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ । जसमा माछाहरूका लागि छुट्टै मार्ग (फिस प्यासेज) समावेश गरिएको छ । यसबाट जलचर र माछाहरूको जीवनचक्रमा न्यूनतम असर पर्नेछ।
यो चीनको १५औँ पञ्चवर्षीय योजना अवधिमा सुरु भएको पहिलो ठुलो राष्ट्रिय गौरवको आयोजना हो। यो योजना सन् २०३५ सम्ममा समाजवादी आधुनिकीकरणको लक्ष्य हासिल गर्ने चीनको प्रयासका लागि निकै महत्त्वपूर्ण मानिएको छ।
हुबेई एकेडेमी अफ सोसल साइन्सेजका अर्थशास्त्री टाङ पेङ्फेईले यो परियोजनाले आगामी पाँच वर्षका लागि तय गरिएका उच्च-गुणस्तरको विकास र याङ्त्जे नदी आर्थिक क्षेत्रको हरित वृद्धिको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने बताए। पश्चिमा पहाडी भूभागदेखि पूर्वी तटसम्मका ११ वटा प्रान्तीय क्षेत्रहरू ओगटेको याङ्त्जे नदी आर्थिक क्षेत्रले चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को झण्डै आधा हिस्सा ओगट्छ।
यस क्षेत्रमा धातु, इलेक्ट्रोनिक्स र अटोमोबाइल जस्ता प्रमुख औद्योगिक क्लस्टरहरू छन् । साथै, आर्टिफिसियल इन्टेलिजेन्स , बायोमेडिसिन र नयाँ ऊर्जा जस्ता आधुनिक क्षेत्रहरू पनि तीव्र रूपमा विकास भइरहेका छन्। यो आर्थिक क्षेत्र चीनको वैदेशिक लगानी र व्यापारको प्रमुख केन्द्र पनि हो, जसले देशको कुल वैदेशिक व्यापारको झण्डै आधा हिस्सा ओगट्छ।
६ हजार ३ सय किलोमिटर भन्दा लामो याङ्त्जे नदी चीनको अर्थतन्त्रका लागि सधैँ जीवनरेखा साबित हुँदै आएको छ। तर, तीव्र आर्थिक वृद्धि र मालसामान ढुवानीको बढ्दो मागका कारण विद्यमान थ्री गर्जेज सिप लकमा अत्यधिक दबाब बढेको छ। यसले सन् २०११ मै आफ्नो निर्धारित क्षमता वार्षिक १० करोड टनलाई समयभन्दा १९ वर्ष अगावै पार गरेको थियो भने गत वर्ष यसको थ्रुपुट १७ करोड टन नाघेको थियो।
यो नयाँ सिप लक र यसको पहुँच मार्ग (६,६८० मिटर) निर्माण सम्पन्न हुन ९ वर्षभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । तल्लो तटको बाँध स्तरोन्नतिको काम करिब ८ वर्षमा पूरा हुने तालिका छ। यो नयाँ जलमार्गले आपूर्ति शृङ्खलाको अवरोध हटाउने, व्यापारिक लागत कम गर्ने र आन्तरिक क्षेत्रहरूलाई विश्व बजारसँग अझ राम्रोसँग जोड्ने अर्थशास्त्री टाङको विश्वास छ।
नदीमा काम गर्ने जहाजका चालकहरूका लागि पनि यो परियोजनाले प्रतिक्षाको समय र ढुवानी लागत दुवै घटाउनेछ। विगत दुई दशकदेखि याङ्त्जे नदीमा कन्टेनर जहाज चलाउँदै आएका क्याप्टेन जियाङ जोङ्जिनले नयाँ जलमार्ग बनेपछि कम्पनीहरूको बिलम्ब शुल्क जोगिने र आफूहरू पनि समयमै घर फर्कन पाउने भन्दै खुसी व्यक्त गरे।
प्रतिक्रिया 4