Comments Add Comment

सप्लायर्सले रासन नदिने बताएपछि नारायणी अस्पतालमा समस्या 

फाइल तस्वीर

११ जेठ, वीरगञ्ज । ‘नारायणी अस्पतालको कोभिड किचेनमा बिरामीहरुका लागि खाना पाक्ने गर्छ । रासन सप्लाई गर्ने जिम्मेवारी पाएका महानुभावले एक्कासी भोलिबाट रासन दिन्न भन्छन्, बक्यौता रकम रहेछ भने लेखाले क्लियर गर्छ भन्दा पनि सहयोग नगर्ने मनसाय भएकालाई के भन्ने ? सहयोगीहरुसँग एक पटक फेरि सहयोगको अपेक्षा छ । कोभिड विरुद्धको यो लडाइँ अवश्य जित्नेछौं ।’

मंगलबार बिहान नारायणी अस्पतालका डा. उदयनारायण सिंहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे ।

‘बेलुका एक्कासी कुकलाई फोन गरेर रासनको सामान सप्लाई गर्न नसक्ने जानकारी गराएछन्,’ डा. सिंहले भने, ‘पैसा नपाएको हो भने लेखासँग कुरा गरौंला, यस्तो परिस्थितिमा हात नझिक्नुस् भनेको मानेनन् । त्यसैले सामाजिक सञ्जालमार्फत दाता खोजेको हुँ ।’

२०७७ चैतदेखि नै नगनारायण गुप्ताले अस्पतालको भान्साको रासन सप्लाई गर्दै आएका रहेछन् । नारायणीमा एक सय जना कोभिडका बिरामी उपचाररत छन् । उपचारमा खटिने चिकित्सक नर्सलगायत कर्मचारी पनि सयकै हाराहारीमा हुन्छन् । उनीहरु सबैलाई अस्पतालले नै खानाको प्रबन्ध मिलाएको छ । अस्पतालमा बिरामी र चिकित्सक, स्वास्थ्यकर्मीलगायत कर्मचारीका लागि गरी दुईवटा भान्सा चलिरहेको छ ।

बिरामीका लागि अण्डा पाउरोटी, भेज तथा ननभेज सुप, हरियो सागसब्जी, खाना र चिकित्सक, अन्य स्वास्थ्यकर्मी र कर्मचारीका लागि खाना–नास्ताका लागि आवश्यक सामग्रीको प्रबन्ध सप्लायर्सले गर्दै आएको थियो । एक्कासी सप्लायर्सले रासनको सामान सप्लाई नगर्ने भनेपछि तरंग आउनु स्वभाविक हो । अस्पतालको भान्सा हेर्ने एक कर्मचारीका अनुसार सप्लायर्सले जे–जे सामान मागेपनि उपलब्ध गराउँदै आएका थिए ।

पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । सप्लायर्स गुप्ताका अनुसार अस्पतालमा २० लाख रुपैयाँ बक्यौता छ । पैसाकै अभाव भएका कारण कठोर निर्णय गर्न बाध्य भएको उनको भनाइ छ ।

‘दुई रुपैयाँ कमाउँ भन्ने उद्देश्य राखेर काम गरेको हैन, चैतदेखि नै सामान दिएको हो, दुई–दुईवटा किचेन चलिरहेको छ,’ उनले भने, ‘मैले पनि सामान अरुसँग खरिद गरेर दिने हो, अस्पतालबाट पाउनुपर्ने रकम २० लाख पुगिसकेको छ । घर बेचेर सामान दिन सकिंदैन नि ।’

निषेधाज्ञाको समयमा घर धान्न मुस्किल पर्ने समयमा अस्पतालमा कुनै सामानको कमी हुन नदिएको उनको दाबी छ । यसअघिका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरलाई समेत रकम दिन पटक–पटक आग्रह गर्दा सुनुवाइ नभएको उनले बताए ।

‘मेसु डाक्टर सञ्जय सर पैसा नदिई काठमाण्डु जानुभयो, त्यसपछि आउनु नै भएन,’ उनले भने, ‘नयाँ मेसु सर आएपछि पनि पैसा पाइरहेको छैन, सक्दै नसक्ने स्थिति भएपछि सामान दिन सक्दिन भनेको हुँ ।’

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधानले भने कृत्रिम समस्या सृजना गरेर रासनको सामान दिन सक्दिन भन्नु गलत भएको टिप्पणी गरे । ‘विषम परिस्थिति छ, कतिपय संघ संस्थाले अलपत्र परेका तथा विपन्न मान्छेलाई मात्र हैन, सडकका कुुकुरलाई समेत खाना खुवाइरहेका छन्,’ उनले भने, ‘दुई महिनादेखि रासन दिंदै आएको सप्लायर्सले एक्कासी सामान दिन सक्दिन भन्नु गलत हो । अर्को पाँच दिन कुर्न सकिंदैन र ?’

विशेष कामले काठमाडौं जाँदै गरेको भन्दै डा. प्रधानले आफ्नो हस्ताक्षरबाट खाता सञ्चालनका लागि कागजपत्र छाडेर आइसकेकाले केही दिनपछि पैसा निकासा गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment