Comments Add Comment

दुई वर्षदेखि रोकियो घाटु

यसपालि पनि सती घाटु सम्झिइयो मात्र । कोरोना महामारीका कारण सदियौँ पुरानो घाटु देखाइएन । गत वर्ष पनि कोरोना जोखिमकै कारण घाटु रोकिएको थियो । घाटुको पुस्तैनी परम्परा लगातार दुई वर्ष प्रभावित बन्न पुगेको छ । समय ठिकठाक चलेको भए गलकोट नगरपालिका–१० पाण्डवखानीमा यतिबेला घाटुको रौनक छाउँथ्यो ।

बुद्ध पूर्णिमाका दिन त घाटु हेर्नकै लागि मानिसको घुइँचो नै लाग्थ्यो । अहिले पाण्डवखानीमा न वैशाखे पूर्णिमा मेलाको रमझम छ, न घाटुको । घाटु बर्सेनि वैशाख कृष्ण औँसीमा शुरु गरी जेठको तेस्रो साता विर्सजन गर्ने चलन छ । गाउँमा प्रचलित घाटु नाच रोकिँदा कतिपयले अफसोच मानेका छन् । यो वर्ष घाटु देखाउन पाउने आशमा स्थानीयवासी थिए । आउँदो वर्ष पनि के कसो हुने हो अन्योल छ । कोरोना हटेर स्थिति सहज भएमा त पर्व÷परम्पराले निरन्तरता पाउने नै छन् ।

घाटु संरक्षण समितिका संयोजक गिरिप्रसाद थापाले प्रतिकूल अवस्थाका कारण घाटुको परम्परामा ठेस लागेको बताउनुभयो । “यसपालि पनि यस्तै भयो, घाटुका गुरुहरुको सम्झना ग¥यौँ, शरण प¥यौँ, सामान्य धजा–पूजा मात्र भयो”, उहाँले भन्नुभयो । वर्षभरिमा कसैलाई दुःखकष्ट नपरोस्, बाटोमा हिँड्दा ठेस नलागोस् सबैको भलो होस् भन्ने कामना गरिएको संयोजक थापाले सुनाउनुभयो । पुरानो संस्कृति देखाउन नपाउँदा अप्ठेरो लागे पनि परिस्थिति त्यस्तै आइलागेको उहाँको भनाइ छ ।

घाटु नाचका लागि कम्तीमा पनि २५÷३० जना चाहिने, मानिस भेला हुने भएकाले कोरोना सङ्क्रमणको जोखिमबीच त्यो सम्भव हुन नसकेको हो । सङ्क्रमण रोक्नकै लागि अहिले जिल्लाभर निषेधाज्ञासमेत जारी छ । कोरोना गाउँगाउँसम्म फैलँदो छ । घाटुका गुरुबासमेत रहनुभएका थापाले यसरी घाटु नाच रोकिएको आफूले कहिल्यै थाहा नपाएको उल्लेख गर्नुभयो ।

“पहिले–पहिले गुरुबाहरुको निधन हुँदा रोकिएको हुनसक्छ, तर हाम्रो पालामा पहिलोपटक यस्तो भयो”, उहाँले भन्नुभयो । औँसीबाट शुरु हुने भए पनि बुद्ध पूर्णिमाका दिन विशेषरूपमा घाटु देखाउने चलन छ । यस वर्ष बुद्धपूर्णिमा बुधबार परेको छ । सोही अवसरमा लाग्ने वैशाखे पूर्णिमा मेलाको मुख्य आकर्षण पनि सती घाटु बन्ने गर्छ । यो वर्ष पनि कोरानाकै कारण उक्त मेला हुन नसकेको आयोजक घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले जनाएको छ ।

मञ्चले पनि घाटुको संरक्षण र प्रवद्र्धनमा सघाउँदै आएको छ । मञ्चका सहसचिव सुरेश छन्त्यालका अनुसार पूर्णिमा मेला र घाटुको साइनो पुरानो छ । “घाटु हेर्नकै लागि मेलामा मानिसहरुको ठूलो जमघट हुन्थ्यो, तर अहिले कोरोनाका कारण घाटु देखाउने अवस्था रहेन”, उहाँले भन्नुभयो ।

बर्सेनि माघमा फुक्ने (शुरु गर्न मिल्ने) भए पनि वैशाख कृष्ण औँसीदेखि मात्र पाण्डवखानीमा घाटु देखाइन्छ । जेठ अन्तिम साता समापन गरेपछि माघसम्म घाटु नचाउन मिल्दैन । घाटु विर्सजन गर्नुलाई ‘घाटु सेलाउने’ पनि भनिन्छ ।

घाटु शुरु हुँदा र विर्सजनमा विधिवत् पूजाआजा हुन्छ । बिदाइपछि घाटुनीलाई बाटोमा एक्लैदुक्लै हिँड्दा बाधा नआओस् भन्ने कामना गरिन्छ । “देवीदेउताले छोएका घाटुनीको शरण पर्ने, विधिवत् पूजा गर्ने काम हुन्छ”, गुरुबा थापाले भन्नुभयो, “बिदाइमा कारुणिक गीत गाइन्छ, नाच पनि त्यस्तै हुन्छ ।”

नाच्ने युवतीलाई घाटुनी भनिन्छ । तीनदेखि पाँच–छ जनासम्म घाटुनी हुन्छन् । तत्कालीन पर्वते राजा परशुराम र रानीको जीवनकथामा आधारित सती घाटु गीतिनाटकको शैलीमा प्रस्तुत गर्ने गरिन्छ । युद्धमा राजाको वीरगतिपछि रानीहरुको बिलौना गीत र नृत्यमार्फत घाटुमा अभिव्यक्त हुने गर्छ । राजाको वियोगमा मुर्छित रानी सती गएको कथालाई गीतिलयमा ढालेर रानीको प्रतीकको रूपमा घाटुनीहरु नृत्य गर्छन् ।

गीतकै सुरमा घाटुनीहरुको आँखा बन्द हुने, ढल्ने र पुनः गीतबाटै उनीहरुलाई उठाउने गरिन्छ । महिला र पुरुष कलाकारले समूहमा बसेर कारुणिक गीतहरु गाउँछन् । घाटुनीहरु गीतको सुरमा लठ्ठिएर नाच्छन् । बिहान शुरु भएको घाटु मध्यरातपछि मात्र पूरा हुन्छ ।

नृत्यकै क्रममा आँखा पुरै बन्द हुनुमा कुनै ‘अलौकिक शक्ति’ रहेको जनविश्वास छ । सती घाटुमा कथा अनुसार अइरा, सतीलगायत विभिन्न खण्डहरु हुने गर्छन् । अइरा खण्डमा रोपाइँ र ढ्याङ्ग्रो नाच देखाउने गरिन्छ । “सती खण्डमा घाटुनीहरु मुर्छित भएर ढल्छन्, जुन क्षण एकदम कारुणिक हुन्छ”, गुरुबा थापाले भन्नुभयो । भगवान् शिवजीले जोगीको भेषमा राजासँग निहुँ खोजेपछि रानी मुर्छित भएर ढलेको कथा सती घाटुमा छ । घाटुनीहरु गीतबाटै ढल्ने र गीतबाटै उठ्ने हुँदा सती घाटुमा अदृश्य शक्ति रहेको विश्वास गरिन्छ ।

पाण्डवखानीको घाटु नाचको कुनै लिखित इतिहास नभए पनि तत्कालीन गलकोटे राजा खानी खन्ने क्रममा त्यहाँ जाँदा घाटु नाच पनि सँगै लिएर गएको गाउँका अगुवा बताउँछन् । पाण्डवखानीसँगै छिमेकी गाउँ रिघा, सिसाखानीलगायत मगर समुदाय भएका ठाउँमा सती घाटु नचाउने गरिन्छ । बागलुङमा सबैभन्दा बढी प्रचलित र लोकप्रिय सती घाटु पाण्डवखानीकै मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment