Comments Add Comment

किनमेलका नाममा भीड बढेपछि किराना पसल पनि बन्द : सिडिओ भट्टराई

१२ जेठ, काठमाडौं । कोरोना संक्रमण दर अपेक्षित रुपमा नघटेपछि किराना पसलसमेत बन्द गर्ने निर्णय गर्नु परेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका छन् ।

काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर समेत बन्द गर्ने प्रशासनको निर्णय अव्यावहारिक भएको भन्दै गुनासो आइरहेका बेला प्रजिअ भट्टराईले सर्वसाधारणकै लागि यो निर्णय लिइएको अनलाइनखबरलाई बताए ।

‘व्यावहारिकता हेरेरै पानी, फलफूल र तरकारीलाई रोकेका छैनौं, दाल, चामल त एक हप्तालाई किनेर राख्दा भइहाल्छ’ भट्टराईले भने, ‘त्यसका लागि दुई दिन समय पनि दिएका छौं ।’

दुई दिनसम्म सबै पसल खुल्ने भएकाले भीडभाड नहुने उनले बताए । भट्टराईले थपे, ‘निषेधाज्ञा मात्रै अचूक उपाय होइन, जनता आफैंले पनि सहयोग गर्नुपर्‍यो । एक साता गुन्द्रुक, चना र भात खाँदा केही हुँदैन ।’

भट्टराईले ज्यानभन्दा ठूलो अरु कुरा नभएको भन्दै नागरिकलाई प्रशासनको निर्णयलाई सकारात्मक रुपमा लिइदिन आग्रह गरे । उनले थपे, ‘प्रशासनले निषेधाज्ञा लगाएर जमघट नगर भन्यो तर, किनमेलका नाममा पसलहरुमा भीड बढ्यो । जनताले सतर्कता अपनाइदिएको भए यो निर्णय गर्नैपर्ने थिएन ।’

एक सातापछि निर्णयमाथि पुनर्विचार हुने प्रशासनका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार यो बीचमा कसैलाई धेरै समस्या भए प्रशासनमा खबर गर्न पनि सक्नेछन् ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलबार पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने गरी एक साता निषेधाज्ञा थप गरेको थियो । प्रशासनले सरकारी सवारीसाधनलाई पनि दिउँसो हिंड्न रोक लगाएको छ ।

कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment