Comments Add Comment

खोप किन्ने प्रक्रिया मिलाइदिन तिलोत्तमा नगरपालिकाको माग

१३ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरवासीलाई कोभिड विरुद्धको खोप अनुदानमा दिन माग गर्दै नसके खरिद गर्ने प्रकृया अघि बढाइदिन संघीय सरकारसँग माग गरेको छ ।

नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको वैठकको निर्णय अनुसार नगर प्रमुख बासुदेव घिमिरेले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउंदै अनुदानमा दिन नसके खरिदको प्रक्रिया अघि बढाइदिन माग गरेका हुन् ।

नगरपालिकाले ७८ हजार जना नगरवासीलाई कोरोना खोप अनुदानमा उपलब्ध गराउन माग गर्दै नभए आन्तरिक स्रोतबाट आफैँ खरिद गर्न प्रकृया अघि बढाइदिन माग गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

१८ वर्षमाथिको जनसंख्या ८५ हजार भएपनि संघीय सरकारबाट प्राप्त ७ हजार खोप जेष्ठ नागरिक र अग्रपंक्तिका कर्मचारीहरुले लगाइएको नगरपालिकाले जनाएको छ । नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा समेत स्वीकार गरिएको, अनुसूची ८ मा आधारभूत स्वास्थ्य नगरपालिकाको क्षेत्राधिकारमा परेको साथै अनुसूची ९ मा स्वास्थ्य सेवा संघ, प्रदेश र स्थानीय सरकारको साझा क्षेत्राधिकारमा रहेकाले अनुदानमा खोप उपलब्ध गराउन नगरपालिकाले माग गरेको हो ।

‘अनुदानमा उपलब्ध हुन नसकेको अवस्थामा नगरपालिकाको आन्तरिक स्रोत साधनबाट समेत खर्च गर्ने गरी विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गरिएको खोप नेपाल सरकारबाट हालै जारी भएको कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा २६ को उपदफा २ बमोजिम कूटनीतिक नियोगमार्फत खरिद गर्नको लागि आवश्यक प्रक्रिया अगाडि बढाइदिनुहुन माग गरिएको छ’–नगरपालिकाले लेखेको पत्रमा उल्लेख छ ।

भारतसँग सीमा जोडिएको जिल्लाको नगरपालिका भएको र दैनिक करिब २ सय जनाको हाराहारीमा नयां संक्रमित थपिने गरेका र करिब ९ सय जना सक्रिय संक्रमित रहेका पत्रमा उल्लेख छ ।

नगरपालिकामा  हालसम्म कोरोना संक्रमणबाट ९३ जनाको मृत्यु भएको छ । ‘कोरोना संक्रमण र मृत्युबाट बचाउने सबैभन्दा उपयुक्त विधि खोप नै भएकाले सकेसम्म अनुदानबाट नभए आफ्नै खर्चमा खरिद गर्न सम्बन्धित संघीय मन्त्रालयमा पत्रचार गरेका हौं’–नगर प्रमुख बासुदेव घिमिरेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment