Comments Add Comment

समस्यामा परेका चलचित्र प्राविधिकलाई कलाकारहरुको सहयोग

निषेधाज्ञाका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरुका लागि कलाकारहरुले सहयोग गर्न थालेका छन् । कोही कलाकारहरुले खाद्यान्न सहयोग गरेका छन् भने कोही कलाकारहरुले नगद सहयोग गरेका छन् ।

केही दिनअघि कलाकार विजय लामा र लामा नोर्बु पासाङ्ले ५० प्राविधिकका परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । बुधबार केही वर्षदेखि अभिनयबाट टाढा रहेकी नायिका सुमिना घिमिरेले प्राविधिकहरुका लागि खाद्यान्न सहयोग गरेकी छिन् । प्राविधिकहरु पीडामा रहेको खबर सुनेपछि उनी र पेशाले पाइलट रहेका उनका श्रीमान् रोशन सापकोटाले ४० प्राविधिक परिवारलाई एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका हुन् । सुमिनाले वर्षौसम्म सँगै काम गरेका प्राविधिकहरुलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टी मिलेको बताइन् । सुमिनाले गतवर्षको लकडाउनमा पनि प्राविधिकहरुलाई सहयोग गरेकी थिइन् ।

कोरोनाका कारण प्राविधिकलाई दुई छाक टार्नकै चिन्ता भएको खबर सुनेपछि अन्य कलाकारहरु पनि सहयोगमा जुटेका छन् । कलाकार निर्मल शर्माले समस्यामा परेका चलचित्र प्राविधिकका लागि २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन् । उनले आफू जोडिएको लक्ष्मी प्रतिष्ठानसँग सहयोग जुटाएर नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई बुधबार रकम हस्तान्तरण गरेका हुन् ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले उक्त रकम संघको ‘कोभिड १९ विपद् व्यवस्थापन कोष’मा जम्मा गरिएको बताए । संघले चलचित्र प्राविधिकका लागि विपद् व्यवस्थापन कोषको स्थापना गरेको छ । चलचित्र प्राविधिकहरुका लागि कोषमा अन्य कलाकारहरुले पनि सहयोग गर्ने क्रम बढिरहेको अध्यक्ष लामाले बताए । अमेरिकामा रहेका नायक जीवन लुइटेल, राजबल्लभ कोईराला, निरज बरालले ५१–५१ हजार रुपैयाँ विपद् व्यवस्थापन कोषमा सहयोग गरेका छन् ।

त्यस्तै, अमेरिकामै रहेका अभिनेता गणेश उप्रेतीले ५० हजार, मुकेश आचार्यले २१ हजार, बेल्जियममा रहेका कलाकार तथा निर्माता तेजेन्द्र कँडेलले १५ हजार रुपैयाँ सहयोग गरेको प्राविधिक संघका अध्यक्ष लामाले जानकारी दिए । समस्यामा परेका प्राविधिलाई कोषबाट सहयोग गर्दै जाने लामाले बताए ।

नेपाली चलचित्रको पर्दापछाडि रहेका काम गर्ने प्राविधिकहरु १५ सय छन् । त्यसमा अधिकांश प्राविधिकहरुको आर्थिक अवस्था कमजोर भएकाले अहिलेको अवस्थामा उनीहरुको समस्या न्यूनिकरण गर्न लागिपरेको अध्यक्ष लामा बताउँछन् । अहिलेको विषम परिस्थितिमा निम्न आय भएका चलचित्र प्राविधिकहरुलाई सहयोग गर्नु सम्पूर्ण चलचित्रकर्मीको दायित्व भएको कलाकार निर्मल शर्मा बताउँछन् ।

‘अहिले निम्न आय भएका चलचित्र प्राविधिकहरु निकै समस्यामा परेका छन्’ निर्मलले भने–‘उनीहरुलाई जती सकिन्छ सहयोग गर्नु हामी सबै चलचित्रकर्मीको दायित्व हो । जे–जति सकिन्छ हामी सबै मिलेर उनीहरुको अहिलेको समस्या समाधान गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment