+
+
Shares

सशस्त्रका डीआईजी गौतमले गरे वीरगञ्ज नाकाको निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १३ गते १९:०५

१३ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतमले वीरगञ्ज नाकाको स्थलगत निरीक्षण गरेका छन् ।

गौतमलाई सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले नाकाको गतिविधिको बारेमा जानकारी गराए । उनका अनुसार २०७७ चैत २३ गते यता नाकामा १ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा संक्रमण पुष्टि भएको छ । निषेधाज्ञामा पनि नाका हुँदै माछामासु, फलफूल, तरकारी र कोइला बोकेका १५० देखि २ सयवटा गाडी ओहोरदोहोर गरिरहेका छन् ।

सीमामा सशस्त्र प्रहरी नायब उपरीक्षक वा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा स्क्वाड ट्याक्टिकल टिम गठन गरेर शान्ति सुरक्षा र अवैध गतिविधि नियन्त्रणको काम गरिरहेको डीआईजी गौतमले बताए । उनले सीमित स्रोत साधनको उच्चतम प्रयोग गरेर सीमा क्षेत्रमा कडाइ गरिएको दाबी गरे ।

‘लुप होल खोजेर आउजाउ गर्छन्,  समातेर भारतीयलाई उतै फिर्ता गरेका छौं, चुनौती छ, भौगोलिक आधारमा कठिनाइ छ, जनशक्ति कम छ, सीमित स्रोत साधनको भरपुर प्रयोग हुने गरी व्यवस्थापन मिलाएका छौं,’ उनले भने, ‘१८ घण्टा ड्युटी लगाएका छौं, मेहनत गरेका छौं, सकेसम्म नाकामा कडाइ गरेका छौं ।’

उनले प्रदेशस्थित पीसीसीएमसी र आठवटै जिल्लाका डीसीसीएमसीसँग र अन्य सरोकारवाला निकायसँगको समन्वयमा सशस्त्र प्रहरीले काम गरिरहेको बताए ।

प्रदेश २ का आठ जिल्लामध्ये ७ वटामा पूर्ण र सप्तरीमा आंशिक निषेधाज्ञा छ । वीरगञ्ज, रौतहटको गौर र महोत्तरीको भिठ्ठामोडबाट मात्रै सर्वसाधारणलाई अत्यावश्यक कामका लागि आउन जान अनुमति दिइएको छ । तर तोकिएको ठाउँबाहेक अन्यत्रबाट नेपाली तथा भारतीय नागरिक आवतजावत गरिरहँदा सशस्त्र प्रहरीले रोक्न नसकेको भनी आलोचना हुने गरेको छ ।

प्रदेश २ मा सशस्त्र प्रहरीले ७२ वटा बोर्डर आउट पोष्ट, ४९ फरवार्ड अपरेटिङ बेस र त्यसभन्दा अगाडि ड्युटी पोष्ट राखेर सुरक्षा दिइरहेको छ । बागमती प्रदेशले ८५ जना र तालिम केन्द्रबाट समेत थप जनशक्ति पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?