+
+

चितवनका अस्पतालमा घट्न थाले कोरोनाका बिरामी

सुवास पण्डित सुवास पण्डित
२०७८ जेठ १३ गते २०:१३

१३ जेठ, चितवन । चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या घट्दै गएको देखिएको छ । कोरोना संक्रमितहरुको उपचार गराउँदै आएका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन्स भरतपुर र बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कोरोना संक्रमित बिरामीको संख्यामा कमी आएको छ ।

एक साताअघिसम्म यहाँका विभिन्न अस्पतालमा ५०२ जना कोरोना संक्रमितले उपचार गराउँदै आएकोमा अहिले सो संख्या घटेर ४०६ जना पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा १०२, चितवन मेडिकल कलेजमा ११२, कलेज अफ मेडिकल साइन्सेन्समा ७५, क्यान्सर अस्पताल भरतपुरमा ४४, अन्य निजी अस्पतालमा ३१ र विभिन्न सार्वजनिक आइसोलेसन सेन्टरमा २५ जनाले उपचार गराइरहेका छन् ।

अस्पतालहरुमा बिरामी भर्ना हुने दरभन्दा डिस्चार्ज हुने क्रम बढ्दै गएको छ । संक्रमित बिरामीको संख्यामा कमी आउन थालेपछि यहाँका अस्पतालहरूलाई उपचार व्यवस्थापनमा पनि केही सहजता हुँदै गएको छ । भरतपुर अस्पतालका कोभिड संयोजक डा. प्रमोद पौडेलले कोरोना संक्रमित बिरामीको संख्यामा कमी आउँदा उपचार व्यवस्थापनमा सहजता भएको बताए ।

‘हामीकहाँ आईसीयू र एचडीयूमा बिरामीको संख्यामा खासै कमी आएको छैन, तर जनरल कोभिड बेडहरु खाली हुन थालेका छन्,’ डा. पौडेलले भने, ‘पहिला पहिला फोन आएर हैरान हुन्थ्यो, हामीलाई पनि बेड दिन नसक्दा नमज्जा हुन्थ्यो, अहिले अक्सिजन लगाएर राख्न सक्ने सहज अवस्था छ, बेडको अभाव छैन, यो सुखद अवस्था हो ।’

डा. पौडेलको विचारमा सरकारले गरेको लकडाउनका कारणले भाइरसको ‘चेन ब्रेक’ हुन जाँदा बिरामीको संख्यामा कमी आएको हो । तर, अझै पनि समुदायमा कोरोना संक्रमित भई आइसोलेसनमा बसेका व्यक्तिहरु भएकाले स्वअनुशासनको पालना हुनुपर्ने डा. पौडेल बताउँछन् ।

चितवन मेडिकल कलेजमा आकस्मिक कक्ष हेर्ने निर्देशक डा. दयाराम लम्साल पछिल्लो दिनमा कोरोना संक्रमित बिरामीको संख्यामा कमी आएपछि केही फुर्सद मिलेको बताउँछन् । ‘१० दिन अगाडि र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ, बिरामीहरुको ओइरो लागेको देख्दा निकै दर्दनाक लाग्थ्यो, तर अहिले बिस्तारै संक्रमित बिरामीको संख्यामा कमी आएको छ,’ डा. लम्साल भन्छन्, ‘बिरामीको संख्या घट्दा उपचार व्यवस्थापनमा सहजता भएको महसुस भएको छ ।’

उनका अनुसार अहिले औसत ५० प्रतिशत बिरामीको संख्यामा कमी आएको छ ।

अस्पतालमा संक्रमितको संख्यामा कमी आएपछि अक्सिजनको आपूर्तिमा पनि सहजता भएको छ । यहाँका ठूला अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भएका कारण खासै अक्सिजनको संकट र हाहाकार भने भएन । केही दिनदेखि ‘सास’ फेर्ने फुर्सद मिलेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी बताउँछन् ।

अझै पनि खतरा छ

अस्पतालहरुमा बिरामीको संख्यामा कमी आएपछि अझै खतराको अवस्था विद्यमान रहेको जनस्वास्थ्यविज्ञहरु बताउँछन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले संक्रमित हुनेको संख्या कमी आए पनि अझै खतराको घण्टी भने बाँकी नै रहेको बताउँछन् । लकडाउन अघि (वैशाख १५) संक्रमित भएर परिवार तथा समुदायमा कोरोना सारेका व्यक्तिहरु निको हुने चरणमा रहे पनि त्यसपछि सरेका व्यक्तिहरु अझै पनि समुदायमा रहेकोले खतरा विद्यमान रहेको तिवारीले बताउँछन् ।

‘संक्रिय संक्रमितको संख्या घटे मात्रै साँच्चै संक्रमणमा कमी आएको भन्न सकिन्छ,’ तिवारी भन्छन्, ‘अहिले स्थिर अवस्थामा छ, परीक्षणमा कमी त देखिएको छ, आशा गरौं अबको केही साता लकडाउन हुँदा यो संख्यामा अझै कमी आउला ।’

चितवनमा जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २० गतेसम्म लकडाउन थप गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टराईले संक्रमितहरुको संख्या अस्पतालहरुमा घट्नु सुखद भएको बताए ।

‘कालो बादलमा चाँदीको घेरा देखिएको छ, तर अझै आशावादी बनेर ढुक्क हुनसक्ने अवस्था छैन, जबसम्म यसमा कमी आउँदैन, तबसम्म प्रशासनको तर्फबाट गर्नुपर्ने आवश्यक पहल लिइरहन्छौं,’ सहायक प्रजिअ भट्टराईले भने, ‘एक–दुई दिनको अवस्थाले केही राहत त अनुभव भएको छ तर, चुनौती पनि उच्च नै छ ।’

मृत्यु हुनेको संख्या उस्तै

चितवनमा कोरोना संक्रमित भएर अस्पतालमा उपचार गराइरहेकाहरुको मृत्युमा भने खासै कमी आएको छैन । दैनिक १० देखि १५ जनासम्मको उपचारको क्रममा यहाँका विभिन्न अस्पतालमा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा यहाँका अस्पतालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनसहितका विभिन्न बाहिरी जिल्लाका छन् ।

चितवनमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका १३५ जना छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले मृत्यु हुनेको संख्यामा कमी आउन अझै समय लाग्ने बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?