+
+
Shares

अनलाइनखबरकर्मी शर्मालाई डायलसन स्मृति पत्रकारिता पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिलोत्तमा नगरपालिकाले डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार–२०८३ बाट अनलाइनखबरकर्मी टोपराज शर्मासहित चार पत्रकारलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्रले पुरस्कृत गरेको छ।
  • सम्मान पाएका पत्रकारमा रेखा भुसाल, बीपी गौतम र कृण रणपाल पनि रहेका छन्।
  • नगरपालिकाले स्वर्गीय पत्रकार डायलसन अधिकारीका छोरा–छोरीको अध्ययनमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।

१७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पत्रकारितामार्फत समाज रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै अनलाइनखबरकर्मी टोपराज शर्मासहित चारजना पत्रकारलाई डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मान गरेको छ ।

तिलोत्तमा नगरपालिकालाई कर्मथलो बनाएर दुई दशकदेखि निरन्तर पत्रकारिता गर्दै आएका शर्मालाई लगनशीलता, निष्ठा र पत्रकारिताको माध्यमबाट समाजमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

नगरपालिकाले मंगलबार  एक कार्यक्रमबीच अनलाइनखबरका बुटवलस्थित संवाददाता शर्मा सहित नागरिक दैनिकका संवाददाता रेखा भुसाल, तिलोत्तमा टेलिभिजनका समाचार प्रमुख बीपी गौतम र दैनिकपत्र दैनिकका पत्रकार कृण रणपाललाई जनही नगद २५ हजार रुपैयां राशी र सम्मानपत्रले पुरस्कृत गरेको हो ।

चारैजना पत्रकारलाई नगरप्रमुख रामकृष्ण खांण, उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल र पुरस्कार छनोट समिति संयोजक सुरेन्द्र श्रीले पुरस्कृत गरेका थिए ।

सो अवसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले  लोकतन्त्र र सुशासनका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेकाले स्वर्गीय पत्रकार डायलसन अधिकारीको स्मृतिलाई चीरस्थायी बनाउन उनको सम्मानमा  पत्रकारिता पुरस्कार स्थापना गरेको बताए । उनले स्वर्गीय अधिकारी स्वच्छ छविका पत्रकार रहेको स्मरण गरे ।

उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले २०७६ सालमा आयोजना गरेको लगानी सम्मेलनको क्रममा पूर्वी नेपालको भ्रमणका क्रममा सप्तरीमा कार दुर्घटनामा परी पत्रकार अधिकारीको निधन भएको घटनाले सिंगो नगरपालिका र पत्रकारिता जगतलाई पीडा भएको उल्लेख गरिन् । उनले स्वर्गीइ पत्रकार अधिकारीका छोरा र छोरीलाई नगरपालिकाले अध्ययनमा सहयोग पुर्‍याउने प्रतिवद्धता जनाइन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पत्रकारिता पेशा चुनौतिपूर्ण बनेको अवस्थामा तिलोत्तमा नगरपालिकाले स्थापना गरेको पत्रकारिता पुरस्कारले क्रियाशील पत्रकारहरुलाई पेशामा टिकिरहन प्रोत्साहन गरेको बताए । पुरस्कृत पत्रकारहरुको तर्फबाट बोल्दै अनलाइनखबरकर्मी शर्माले नगरपालिकाको सम्मानले पत्रकारिता पेशामा थप जिम्मेवार र जवाफदेही बन्न प्रेरित गरेको बताए ।

सो अवसरमा पुरस्कार छनोट समितिका संयोजक एवं कार्यपालिका सदस्य सुरेन्द्र श्रीले स्वर्गीय पत्रकार अधिकारी  तत्कालीन जनसंघर्ष राष्ट्रिय दैनिक, रेडियो नेपाल, रेडियो लुम्बिनी, रेडियो नमस्ते लगायत सञ्चार माध्यममा आवद्व र आर्थिक पत्रकार समाज लुम्बिनीका अध्यक्ष रहेको तथा उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेको जानकारी गराएका थिए । स्वर्गीय पत्रकार अधिकारीका छोरा अदिपसन अधिकारीले नगरपालिकाको कार्यक्रममा जांदा बुबाले ज्यान गुमाएको हुंदा आफूहरुको शिक्षा दिक्षामा नगरपालिकाको सहयोग हुनुपर्ने र पुरस्कार छनोट समितिमा पनि आफ्नो परिवारको सदस्य रहनुपर्ने माग गरे ।  सो अवसरमा नगरपाकिलाका शिक्षा शाखा प्रमुख धनिप्रसाद शर्माले स्वर्गीय पत्रकार अधिकरीका छोरा छोरीको अध्ययनमा सहयोग गर्न विगतमा भएको सहमति यथाशीघ्र कार्यान्वयन गर्ने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?