Comments Add Comment

ललितपुर महानगरले बनायो ५० बेडको आइसोलेसन

१४ जेठ, ललितपुर । ललितपुर महानगरपालिकाले कोरोना संक्रमितका लागि आइसोलेसन सञ्चालनमा ल्याएको छ । महानगरले सुनाकोटीस्थित युथ फाउन्डेसनको भवनमा र बागडोलस्थित ज्यापु समाजले निर्माण गरेको वृद्धाश्रमको नवनिर्मित भवनमा गरी दुई ठाउँमा निःशुल्क आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

सुनाकोटीमा युथ फाउन्डेसनको सहकार्यमा ५० बेडको आइसोलेसनमा ४ वटा एचडीयूसमेत जडान गरिएको छ । दुईजना डाक्टर, एकजना पारामेडिक्स, एकजना सफाइकर्मी, अक्सिजन, आवश्यक औषधिको व्यवस्था महानगरले गरिरहेको फाउन्डेसनका निर्देशक राजु धमलाले जानकारी दिए । संक्रमित भएर होम आइसोलेसनमा बस्ने वातावरण नभएका व्यक्तिहरु आइसोलेसनमा आएर बस्न सक्ने उनले बताए । संक्रमित बोक्नका लागि एम्बुलेन्सको समेत व्यवस्था रहेको उनको भनाइ छ ।

‘संक्रमित भएको अवस्थामा घरमै आइसोलेट भएर बस्न सक्नेस्थिति अधिकांशको छैन । एउटै कोठामा स–परिवार बस्नुपर्ने बाध्यता छ’ उनले भने, ‘संक्रमित भएर पनि त्यसरी बस्न नपरोस् भनेर यो आइसोलेसन सञ्चालनमा ल्याइएको हो ।’

अहिले ३५ जना आइसोलेसनमा बसिरहेको उनले बताए । संक्रमितले सम्पर्क गरेर आफैं आउन सक्ने अवस्था नभए एम्बुलेन्सको समेत सुविधा रहेको उनले बताए । आइसोलेसनबारे बुझनको लागि ९८४९२४९३५७ मा फोन गर्न सकिने छ ।

बागडोलमा रहेको नव निर्मित भवनमा ११० बेड क्षमता रहेको आइसोलेसनमा अहिले ७५ जना संक्रमित छन् । महानगरभित्र संयुक्त परिवारमा बसिरहेका तथा बाध्यताले एउटै कोठामा बसेका परिवारमा बसेका कोही व्यक्ति संक्रमित भएमा उनीहरुलाई राख्नका लागि आइसोलेसन सञ्चालनमा ल्याएको मेयर महर्जनले बताए । बागडोलका संक्रमितलाई सुन्दर ढोका साथी समूहले खानाको व्यवस्था मिलाएको छ । आइसोलेसनमा बस्नका लागि ११३१ मा फोन गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

 

तस्बिर सुनाकोटी स्थित युथ फाउन्डेसनको भवनमा संचालित आईसोलेसनको तस्बिर । स्रोत युथ फाउन्डेसन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment