Comments Add Comment

पोखरा घटनाले उब्जायो सरकार कहाँ छ भन्ने प्रश्न : नेपाली कांग्रेस

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखरामा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ मृत्यु हुनु दुःखद र कारुणिक घटना भएको बताएको छ ।

यो घटनाले राज्यको अकर्मण्यता पुष्टि गर्नुका साथै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सिर्जना गरेको पनि कांग्रेसले बताएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुंदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको छ ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार अक्सिजन नपाएर सुत्केरीसहित ६ जनाको मृत्यु भएको थियो ।

सरकारी र निजी अस्पतालमा अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो भन्दै कांग्रेसले दायित्व निर्वाह नगर्दा भएका गम्भीर घटनाहरुको जिम्मेवार सरकार हुने जिकिर गरेको छ ।

‘अक्सिजनको अभावमा एकसाथ जीवन गुमाएका ६ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्यु पश्चात असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर आजको मितिमा राज्यको कर्तव्य पहिचान र आत्मसात गर्नसमेत नेपाली कांग्रेस प्रधानमन्त्री एवं नेपाल सरकारलाई अपील र आग्रह गर्दछ’ शर्माले विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment