१४ जेठ, गोरखा । बारपाकमा शुत्रबार ७ शय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार कोरोना पुष्टि हुनेमा ४० महिला र १८ पुरुष रहेका छन् ।
‘३९८ जना महिला र ३२४ जना पुरुषको एन्टिजेन परीक्षण गर्यौं’ उनले भने, ‘उनीहरुमध्ये ५८ जनामा कोरोना देखियो ।’ संक्रमितमध्ये तीन जनामा अक्सिजन लेवल कम देखिएको छ । उनीहरुलाई शनिबार ‘फलो अप’ का लागि बोलाइएको दानीले बताए ।
‘भोलि पनि परीक्षण जारी रहन्छ, फलो अप गर्न आउँदा अक्सिजन लेवल घटेको पाइएमा उहाँहरुलाई थप उपचारका लागी गोरखा अस्पताल पठाउछौं’ उनले भने । परीक्षणका लागि आएका अन्य बिरामीलाई आवश्यक उपचारसहित औषधि उपलब्ध गराइएको उनले बताए ।
ज्वरो र रुघाखोकीका बिरामी बढेपछि गण्डकी स्वास्थ्य निर्देशनालय पोखरा र जिल्ला स्वास्थ्य कार्यालय गोरखाको टोली बारपाक पुगेको छ ।
अनुमान गरे अनुसार बारपाक गाउँमा कोरोना महामारी फैलिनसकेको उपचारमा खटिएका गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालका डा. सन्तोष बास्तोलाले बताए । ‘गाउँमा ज्वरो तथा रुघाखोकीका बिरामी धेरै नै रहेछन्, तर हामीले अनुमान गरेको जस्तो कोरोनाका बिरामी चाहिं होइन रहेछन् ।’ तर सतर्कता भने अपनाउनु आवश्यक रहेको उनले बताए ।
बारपाकमा फैलिएको ज्वरो र रुघाखोकीको संक्रमण बारे थप अध्ययन भइरहेको उनले जानकारी दिए । ‘६० बर्षमाथिका बढी बिरामी छन्, हामीले कोरोना संक्रमण पुष्टि नभएका तर ज्वरो र खोकी लागेका बिरामीहरुको अध्ययन पनि गर्दैछौं’ उनले भने । सोही अध्ययनको रिपोर्टको आधारमा बारपाकमा कति दिन बस्ने निर्क्याेल हुने उनको भनाइ छ ।
बारपाकमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढे पनि कोरोना परीक्षण गर्न स्थानीयले आनाकानी गर्दै आएका थिए । जेठ महीनाको यो अवधिमा मात्रै १५ जनाको ज्यान गइसकेको छ ।
परीक्षण गर्न नमान्दा भित्रभित्रै कोरोना महामारी फैलिसकेको आशंका गर्दै प्रदेश र जिल्लाबाट शुक्रवार बारपाकमा चिकित्सक टोली खटाइएको हो । परीक्षणका लागि आग्रह गर्दै राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र गाउँपालिकाको टोलीले घरदैलो अभियान समेत गरेका थिए ।
‘हामी टोलटोलको प्रत्यक घरमा गएर उहाँहरुलाई परीक्षण गर्नुपर्छ भनेर सम्झाउदै हिंड्यौं, प्रदेशबाट विशेषज्ञ डाक्टरहरु आउनुहुन्छ भनेपछि औषधि पाइन्छ भनेर पनि आज परीक्षणका लागि उहाँहरु आउनुभएको हो’, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण भट्टले भने ।
शुक्रबारको परीक्षणसँगै बारपाकमा हालसम्म १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । ‘यसअघि १ शय १३ जनाको परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको थियो, आज ५८ जना थपिए’, उनले भने ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4