Comments Add Comment

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण, तर कार्यान्वयन फितलो !

लोकप्रिय तर, कार्यान्वयनमा ‘फ्लप’ एउटा कार्यक्रम

१५ जेठ, काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफुले प्राप्‍त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याज दरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलव्ध हुने बजेटमा उल्लेख छ ।

चालू आर्थिक बर्षसम्म यो कार्यक्रमबाट ऋण पाउने सीमा ७ लाख रुपैयाँसम्म मात्र रहेको छ । ऋण रकमलाई एकै बर्षमा तीन गुणा बढाइएको हो ।

लोकप्रिय तर, ‘फ्लप’ भइरहेको एउटा कार्यक्रम

शैक्षिक बेरोजगारहरुका लागि शैक्षिक प्रमाण–पत्र धितो राखेर ऋण दिइने कार्यक्रम बिगत पाँच बर्षदेखि बजेटमा पर्दै आएको छ । पहिलोपटक अर्थमन्त्री हुँदा बिष्णु पौडेलले सुरु गरेको यो कार्यक्रम अहिलेसम्म पनि निरन्तर छ । त्यसैले पनि पौडेलको यो कार्यक्रमसँग बिशेष लगाव छ ।

पार्टी निकट बिद्यार्थी संगठनको मागका आधारमा ल्याइएको यो कार्यक्रम आर्कषक सुनिए पनि कार्यान्वयन पक्ष भने निराशाजनक छ । न यसले युवाहरुलाई स्वरोजगार बनाउन सकेको छ, न त यसमा युवाहरुको आकर्षण नै छ ।

युवाहरुको आकर्षण नहुनुको प्रमुख कारण भने बैंकहरुको झण्झटिलो प्रक्रिया नै हो । बजेट भाषणपछि असोजमा सहुलियत ऋण सम्बन्धी कार्यविधि पारित भएर कात्तिकदेखि लागु भएको थियो । त्यस कार्यविधि अनुसार लगानी हुने सहुलियत कर्जाको एउटा कार्यक्रम शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने हो ।

चालु आर्थिक वर्षको १० महिनामा यस्तो ऋण १३९ जनाले जनाले मात्रै उपयोग गरेका छन् । नेपाल राष्ट्र बैंकका बैंक सुपेरिवेक्षण बिभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टका अनुसार यो अबधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट ६ करोड५१ लाख रुपैयाँ कर्जा लिएका छन् ।

शिक्षित युवा स्वरोजगार कर्जा अहिलेसम्म प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म उपलब्ध गराइन्थ्यो । ‘क’ वर्गका विभिन्न वाणिज्य बैंकहरुले यस्तो कर्जा दिन्छन् । तर, यो कार्यक्रम पटक्कै प्रभावकारी देखिएन ।

किन उपयोग हुँदैन शैक्षिक कर्जा ?

बैंकहरुले दिनु पर्ने सहुलियत कर्जा सबैका लागि दिने बताउँछन् । युवाहरु कर्जाका लागि मापदण्ड पुरा गरेर आए बैंकहरुलाई दिन कुनै अप्ठेरो नरहेको बैंकहरुको दावी छ ।
‘हामीलाई कर्जा दिन समस्या छैन, तर मापदण्ड पूरा गरेर आउनुपर्यो’ एक बैंकका सीईओले भने, ‘हामीले चाहेरमात्रै हुँदैन, कर्जा माग गर्न त आउँछन्, तर प्रक्रिया पूरा गर्दैनन्, प्रक्रिया पूरा नगरी कसरी कर्जा दिनु ?’

बैंकहरुले सहज तरिकारले कर्जा दिएका छैनन् भन्ने कुराको उदाहरण सप्तरीका रव्रीन्द्र साहलाई हेरे पुग्छ । उनले राष्ट्रिय वाणिज्य बैंकको राजविराज शाखामा सहुलियत कर्जाका लागि धेरै धाए ।
सम्पूर्ण कागजातहरु पूरा गर्दा पनि बैंकले उनलाई कर्जा दिएन । रवीन्द्र एउटा प्रतिनिधि पात्रमात्रै हुन् । उनीजस्ता धेरै युवाहरु ठूलो आश लिएर बैंकमा जान्छन् । तर, बैंकले निराश बनाएर फर्काइदिने गरेको छ ।

यो पनि पढ्नुहोस ‘धाउँदा–धाउँदै थाकेँ, बैंकले शैक्षिक कर्जा दिएन’ यो पनि पढ्नुहोस शैक्षिक प्रमाणपत्रको आधारमा ७ लाख रुपैयाँसम्म ऋण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment