Comments Add Comment

इराकसँग नेपाल ६-२ ले पराजित

१६ जेठ, काठमाडौं । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४-२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो ।

नेपालका लागि मनिष डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै डेब्यु गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका थिए ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको प्रशिक्षक बनेपछि यो पहिलो खेल हो ।

खेलको खेलको सातौं मिनेटमै अला अब्दुल जाहरा खासिनले फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर नवौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो ।  नेपालका अन्जन विष्टको प्रहार बचाउने क्रममा इराकका अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए ।

१४औं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । अन्जन विष्टले पेनाल्टी एरिया भित्र गोलकिपरसंग वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार इराकी गोलकिपरले बचाए ।

२९औं मिनेटमा मनिस डाँगीले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए । मनिसले यही खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका हुन् र उनले डेब्यु खेलमै गोल गरेका हुन् । ३९औं मिनेटमा मोहम्मद अब्दुलजाहराले इराकका लागि बराबरी गोल फर्काए । लगत्तै अर्को मिनेटमा अयेन हुसेनले गोल गर्दै इराकलाई ३-२ को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी टाइममा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४-२ को अग्रता दिलाए । पहिलो हाफमा गोलको वर्षा हुँदा ६ गोल भएको थियो । तर दोस्रो हाफमा २ गोल मात्र भयो । ६७औ मिनेटमा मोहम्मेद रिदा एल एलायमीले गोल गर्दै इराकलाई ५-२ को अग्रता दिलाए । ७५औं मिनेटमा सजाद जसमी अलसाराफीले गोल गर्दै इराकलाई ६-२ को अग्रता दिलाए ।

खेलमा नेपालका गोलकिपर कप्तान किरण चेम्जोङले केही राम्रा बचाउ समेत गरेका थिए ।  नेपाली टोली अब विश्वकप छनोटका बाँकी ३ खेल खेल्न कुवेत जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment