Comments Add Comment

प्रदेश १ प्रमुखलाई प्रतिपक्षी दलले भने- मुख्यमन्त्रीले काम गरेनन्

१६ जेठ, विराटनगर । प्रदेश १ का प्रतिपक्षी दलका नेताहरुले प्रदेश सरकारले काम गर्न नसकेको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग गुनासो गरेका छन् । आइतबार बिहान प्रदेश प्रमुखको निवास पुगेका नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले सरकारले काम गर्न नसकेको गुनासो गरेका हुन् ।

प्रदेशसभा छलेर हिंडिरहेको सरकारले महामारीमा जनतालाई अनुभूति हुने गरी काम नगरेको, कोरोना संक्रमितको उपचार निःशुल्क गराउन नसकेको र कोरोनाविरुद्धको खोपमा राजनीति गरेको उनीहरुको भनाइ छ ।

सरकारलाई पटक–पटक आग्रह गर्दा अटेर गरेपछि प्रदेश प्रमुखसमक्ष सरकारको कार्यशैलीका बारेमा जानकारी गराइएको नेपाली काङ्ग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले बताए । ‘सरकारले काम गर्न सकेन, संसद छलेर बजेट ल्याउन खोज्दैछ,’ उनले भने, ‘मुख्यमन्त्रीलाई सम्झाइदिनुहोस् भन्ने आग्रह गर्‍यौं ।’

महामारीमा जनता छटपटाइरहँदा सरकारले कोरोनाविरुद्धको खोप पहुँचका आधारमा आफ्नालाई मात्रै दिएको भन्दै उनले अस्पतालमा अक्सिजन अभाव हुँदा सरकार मुकदर्शक बनेको बताए ।

प्रदेशमा असार १ गते बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ । बजेट प्रस्तुत गर्नु भन्दा १५ दिनअघि पूर्व बजेट छलफल गर्नुपर्ने भए पनि सरकारले संसद छलेर अध्यादेशमार्फत बजेट ल्याउन खोजेको विपक्षी नेताहरुको आरोप छ । उनीहरुले संसदको बजेट अधिवेशन बोलाउनका लागि भूमिका खेल्न पनि प्रदेश प्रमुखलाई आग्रह गरे ।

जवाफमा प्रदेश प्रमुख अधिकारीले आफूले मुख्यमन्त्रीसँग समन्वय गर्ने बताए ।

प्रदेश प्रमुख अधिकारीलाई भेट्न प्रदेश १ कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, सचेतक सूर्यराज राई, जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादव, माओवादी केन्द्रका सांसद विजय विश्वास, कुलप्रसाद साम्बा कुशल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment